


गुजरातमा झोलुङ्गे पुल खसेकाे घटना : नाै जना पक्राउ

नयाँ दिल्ली – भारतको गुजरातमा एउटा झोलुङ्गे पुल खसेकाे घटनामा नाै जनालाई पक्राउ गरिएकाे छ ।
घटनापछि प्रहरीले पुल सञ्चालन गर्ने ठेकेदार, मेनेजर, टिकट बिक्रेता र सुरक्षागार्डसमेत गरी नौ जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
मोरवी नगरपालिकाको स्वामित्वमा रहेको पुल औद्याेगिक घरना ओरेवा ग्रुपले सञ्चालन गरिरहेको थियो । झाेलुङ्गे पुल खस्दा कम्तीमा एक सय ४१ जनाको ज्यान गएको छ ।
मोरवी सहरमा रहेको पुल खस्दा झन्डै चार सय जना मानिस मच्छु नदीमा खसेका र तीमध्ये एक सय ४१ जनाको ज्यान गएको बीबीसीले जनाएको छ । एक सय ७७ जनाको उद्धार गरिएको छ । हराएकाहरूको खोजी भइरहेको छ ।
दुई सय ३० मिटर लामो पुल १९ औँ शताब्दीमा भारतमा बेलायतले शासन गर्दा निर्माण भएको थियो । मर्मतपछि पुल पुनः प्रयोगमा ल्याइएको केही दिनमा याे घटना भएको हो । पुलमा मानिसहरू टिकट काटेर गएका हुन् । पुल त्यस क्षेत्रको एउटा प्रख्यात पर्यटकीय केन्द्र हो ।

