
‘किताब जात्रा’ को भर्चुअल साहित्य महोत्सव माघ १७ देखि २३ सम्म
काठमाडाैं – ‘किताब जात्रा’को आयोजनामा माघ १७ देखि २३ सम्म साहित्य महोत्सव आयोजना हुने भएको छ। काठमाडौंमा आइतबार किताब जात्राले कार्यक्रम आयोजना गरी महोत्सवबारे जानकारी गराएको हो। कोरोना महामारीका कारण यस पटक हुने एक हप्ता लामो महोत्सव भर्चुअल हुनेछ। यस पटक भर्चुअल महोत्सवका सम्पूर्ण कार्यक्रम एपी वान टेलिभिजनबाट प्रसारण हुने पनि कार्यक्रममा जानकारी दिइयो।
प्रमुख अतिथिका रुपमा उपस्थित नबिल बैंकका अनिलले भने, ‘नेपालमा जात्राहरुको लामो परम्परा छ जसको आधार धर्म हो। यस्ता जात्राहरु अतीतमुखी छन्। तर किताब जात्राको आधार धर्म नभएर ज्ञान हो जुन भविष्यमुखी छ।’ उनले थपे, ‘पूर्ण नेपाली नागरिक बन्न ज्ञान चाहिन्छ। यसका लागि किताब जात्राजस्ता महोत्सवको निरन्तरताको खाँचो छ।’
एपी वान टेलिभिजनका प्रमुख सम्पादक टीकाराम यात्रीले भने, ‘सामाजिक सञ्जाल र डिजिटल मिडियाको प्रभाव बढिरहेको अवस्थामा टेलिभिजन कार्यक्रममा दायरा र प्रभाव अझ फराकिलो बनाउने समय आएको छ। यही दायित्व पूरा गर्दै हामीले किताब जात्रासँग सहकार्य गरेका हौं।’
महोत्सवका सेसनहरु एपी वान टेलिभिजनबाट हरेक दिन बेलुका छ बजेदेखि ७ बजेसम्म र अन्तिम दिन २३ गने ५ बजेदेखि ७ बजेसम्म प्रसारण हुनेछ। किताब यात्राका सम्पूर्ण सेसन किताब यात्रा एपबाट पनि हेर्न सकिनेछ। कार्यक्रममा बोल्दै किताब जात्राका संस्थापक ऋषिराम अधिकारीले भने, ‘पठन संस्कृतिलाई जनजीवनको अभिन्न अंग बनाउने हाम्रो लक्ष्य हो। त्यसैले यो महोत्सव पठन संस्कृति बिस्तारको अभियान हो।
‘किताब जात्रा’ अनलाइन अर्डर लिई ग्राहकको घरदैलोमै किताब पुर्याउने काम गर्छ। यो ‘किताब यात्रा’को तेस्रो संस्करण हो। महोत्सवमा भाषा, साहित्य, सिनेमा, समाज, उद्यमलगायत विविध विषयका अनुभवी तथा विज्ञसँग अन्तक्र्रियात्मक छलफल हुनेछन्। यही अवसरमा नेपाली वाङमयका क्षेत्रमा योगदान दिने विशिष्ट व्यक्तिलाई पुरस्कृत गर्ने, किताब यात्राबाट सर्वाधिक बिक्री हुने पुस्तकलाई किताब जात्रा बेस्ट सेलर अवार्ड प्रदान गरिने, डिजिटल पुस्तक प्रदर्शनीलगायत गतिविधि सञ्चालन गरिने अधिकारीले बताए।



कागजपत्र |
