
३० प्रतिशत मतपत्र छाप्न बाँकी, धमाधम ढुवानी गर्दै आयोग
काठमाडौं – मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि प्रत्यक्षतर्फ ४० प्रतिशत मतपत्र छपाइको काम सकिएको छ।
योसँगै समानुपातिक तथा प्रत्यक्षतर्फ दुवै गरी कुल संख्याको करिब ७० प्रतिशत मतपत्र छपाइ सम्पन्न भएसँगै अब जम्मा ३० प्रतिशत मतपत्र छाप्न बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ।
आइतबारसम्म प्रत्यक्षतर्फ १ करोड ६७ लाख ५०० मतपत्रको छपाइ सम्पन्न भएको छ। जसमा प्रतिनिधि सभाका लागि ८७ लाख १ हजार र प्रदेश सभाको ८० लाख ५७ हजार ५०० सय मतपत्र रहेका छन्।
समानुपातिक निर्वाचन प्रणालीतर्फको करिब ४ करोड मतपत्र भने यसअघि नै छपाइ सम्पन्न भइसकेको छ। आयोगको पछिल्लो तथ्यांकअनुसार निर्वाचनमा कूल १ करोड ७९ लाख ८५ हजार ७० जना मतदाता रहेका छन्। यी मतदाताहरुले समानुपातिक तथा प्रत्यक्ष दुई प्रणालीका लागि चार वटा मतपत्रमा भोट हाल्नुपर्ने हुन्छ।
यस अनुसार आगामी निर्वाचनका लागि करिब ८ करोड मतपत्र आवश्यक पर्छ। समानुपातिक निर्वाचन प्रणालीतर्फ भने ६८ जिल्लामा मतपत्र ढुवानी भइसकेको छ।
अब ९ वटा जिल्लामा मात्र मतपत्र ढुवानी हुन बाँकी छ। ढुवानी भएकामध्ये प्रदेश सभाका लागि १ करोड ९६ लाख १७ हजार तथा प्रतिनिधि सभातर्फ १ करोड ९३ लाख १३ हजार मतपत्र रहेको छ। अब प्रदेश सभाको ५ लाख ६८ हजार तथा प्रतिनिधि सभाको ५ लाख ५८ हजार मतपत्र मात्र ढुवानी हुन बाँकी छ।



कागजपत्र |
