२८ लाख घुससहित खानेपानीका इन्जिनियर क्वार्टरबाटै पक्राउ


काठमाडौं – २८ लाख रुपैयाँ घुससहित खानेपानीका इन्जिनियर र प्लम्बर पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामेछापस्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय नं ३ का इन्जिनियर नवराज सत्याल र प्लम्बर बखतबहादुर थापालाई क्वाटरबाटै नगद १६ लाख नगद र १२ लाखको चेकसहित पक्राउ गरेको हो ।

उनीहरुबाट १६ लाख रुपैयाँ नगद र १२ लाख रुपैयाँको चेक गरी २८ लाख रुपैयाँ बरामद गरिएको अख्तियार स्रोतले जानकारी दिएको छ ।

रामेछापको इन्छिनगाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको कामको भुक्तानीवापत उनीहरुले रकम लिएको खुलेको अख्तियारको भनाइ छ ।

अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले अख्तियारको केन्द्रीय कार्यालयको टोली रामेछापमा रहेको पुष्टि गरे ।

अख्तियारको टोलीले इन्जिनियर सत्याल र प्लम्बर थापालाई मन्थली नगरपालिका–१ स्थित खानेपानी कार्यालयको क्वार्टरबाट पक्राउ गरेको हो ।

प्रतिक्रिया