


गुल्मी २ : कांग्रेसका बागीको उम्मेदवारी निष्क्रिय, गठबन्धनको साझा उम्मेदवार रामकुमारी

रेसुङ्गा। गुल्मीको क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका बागी उमेदवार कांग्रेस नेता डा. दामोदर भुसालले आफ्नो उमेदवारी निष्क्रिय गराएका छन् ।
सोमबार नेपाली कांग्रेसले दिएको समयभित्र कांग्रेस गुल्मी पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी उनले आफ्नो उमेदवारी निष्क्रिय भएको जानकारी दिएका हुन् ।
गुल्मीको क्षेत्र नं २ सत्तारूढ गठबन्धनको भागबन्डाअनुसार नेकपा (एकीकृत समाजवादी) को भागमा परेको छ । यहाँ एकीकृत समाजवादीकी सचिव एवं पूर्वमन्त्री रामकुमारी झाँक्री सत्तारूढ गठबन्धनको साझा उमेदवार बनेकी छन् ।
झाँक्रीविरुद्ध उमेदवारी दिएका भुसालले नेताहरूको आग्रह, राष्ट्रिय समीकरण र कार्यकर्ताको शुभेच्छाले उमेदवारी निष्क्रिय बनाएको बताए । उनले पार्टीको निर्देशनानुसार सत्तारूढ गठबन्धनको साझा उमेदवार झाँक्रीलाई समर्थन तथा सहयोग गर्ने पनि बताए ।
उमेदवारी निष्क्रिय भएको घोषणा गर्न गरिएको पत्रकार सम्मेलनमा सत्तारूढ गठबन्धनका साझा उमेदवार झाँक्री र नेपाली कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले भुसालको उमेदवारी निष्क्रियले सत्तारूढ गठबन्धनका सबै उमेदवार विजय हुनेमा निश्चित रहेको बताए ।

