

प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा आज पनि सुनुवाइ हुँदै

काठमाडौं – प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनहरुमा आज पनि सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । शुक्रबार छैटौं दिन रिट निवेदकका तर्फबाट कानून व्यवसायीहरूले बहस नसकेपछि संवैधानिक इजलासले सुनवाइ हेर्दाहेर्दैमा राखेको थियो ।
शुक्रबारसम्म रिट निवेदकका तर्फबाट ३५ कानून व्यवसायीले बहस गरिसकेका छन् । शुक्रबारसम्मको सुनवाइमा १३ वटा रिटमध्ये ५ वटा निवेदनको सुनुवाइ सकिएको छ । बहस गर्नेको संख्या धेरै भएको तथा सुनुवाइमा अधिवक्ताले धेरै समय लिएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवराले एक जनालाई बढीमा आधा घण्टाको मात्रै समय तोकेका छन् ।
गत पुस ११ गतेदेखि सर्वोच्च अदालत, संवैधानिक इजलासमा सुनुवाई शुरु भई क्षेत्राधिकार विवादमा बहस भएपछि संवैधानिक इजलासमै सुनुवाई गरिने भनी यही माघ २ गते आदेश भएको थियो ।

