अर्थशास्त्रको नोबेल पुरस्कार ३ जना अमेरिकी विद्वानलाई


काठमाडाैं – यो वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार बैंक तथा वित्तीय सङ्कटबारे अनुसन्धान गर्ने तीन जना अमेरकी विद्वानलाई दिने घोषणा भएको छ । रोयल स्विडिस एकेडेमी अफ साइन्सेसको पुरस्कार छनोट समितिले अर्थशास्त्रको नोबेल पुरस्कार अमेरिकाका बेन एस बर्नान्के, डग्लस डब्ल्यू डायमन्ड र फिलिप एच डाइब्भिगलाई प्रदान गर्ने घोषणा गरेको हो ।

यी तीन विद्वानले वित्तीय सङ्कटमा बैंकको भूमिकाबारे निकै महत्त्वपूर्ण अनुसन्धान गरेको र सुधारका उपायसमेत दिएको जनाइएको छ । यिनीहरूले बैंक तथा वित्तीय संस्थाको पतन रोक्ने विषयमा पनि उल्लेख्य सुझावहरू दिएका छन् ।

यस्तै बैंक तथा वित्तीय संस्थाको पतनले राज्यको अर्थतन्त्र कसरी धराशायी हुन्छ, बचतकर्ताको लगानीलाई कसरी सदुपयोग गर्ने, ऋणको व्यवस्थापन कसरी गर्ने, ऋणी डुबेको अवस्थामा के गर्ने, बैंकको सामाजिक कार्य के हुने लगायतका कैयौँ अनुसन्धान पनि उनीहरूले गरेका खबरमा उल्लेख छ ।

पुरस्कारको राशी झन्डै नौ लाख अमेरिकी डलर रहेको छ । योसँगै यो वर्षका सबै विधाका नोबेल पुरस्कारको घोषणा सम्पन्न भएको छ । भौतिकशास्त्र, रसायनशास्त्र, चिकित्साशास्त्र, साहित्य र नोबेल शान्ति पुरस्कारको घोषणा यसअघि नै भइसकेको छ । बीबीसी

प्रतिक्रिया