सिटौलाले वारेसमार्फत उम्मेदवारी दर्ता गराए


काठमाडौं  नेपाली कांग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाले झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि वारेसमार्फत उम्मेदवारी दर्ता गराएका छन् ।

सत्तारुढ पाँच दलिय गठटबन्धनबीच उम्मेदवारी चयन गर्दा सिट वाँडफाँट गर्ने कार्यदलका संयोजक समेत रहेका सिटौलाले समय अभावका कारण झापा जान नभ्याएपछि नेपाल बार एशोसिएशनका केन्द्रीय उपाध्यक्ष तथा वरिष्ठ अधिवक्ता सुरज तिम्सिनामार्फत आफ्नो उम्मेदवारी दर्ता गरेको उनका सहयोगी प्रेम भट्टराईले बताए ।

सिटौलाको प्रस्तावकमा पार्टी नेता तथा ‘जिउँदो शहिद’ मोहन महर्जन र समर्थकमा कांग्रेस झापा ३ नम्वर क्षेत्रिय सभापति तथा भद्रपुर नगरपालिकाका मेयर गणेश पोखरेल रहेका छन् । टिकट वितरणको विषयलाई लिएर पार्टीका पदाधिकारी तथा शीर्ष नेताबीच तथा गठबन्धन दलका नेताबीच बैठक चलिरहेका कारण सिटौला झापा जान नपाउनु भएको भट्टराईले बताए ।

नेता सिटौलाको उम्मेदवारी विहान पौने ११ बजे भए पनि उनी दिउँसो १ बजे चन्द्रगढी विमानस्थल पुगेर सन्थाल नृत्य र वाजागाजा सहित निकालिएको झाँकीमा सहभागी भई उम्मेदवारी दर्ता सभालाई संवोधन गर्न पुगेका थिए ।

 

प्रतिक्रिया