

शेखर कोइराला समूहले आज पार्टी कार्यालयमा धर्ना दिँदै

काठमाडौँ- समानुपातिक सूचीमा आफ्नो समूहका उम्मेदवार कम परेको भन्दै नेपाली कांग्रेसको शेखर कोइराला पक्षधर नेता असन्तुष्ट छन्। उनीहरूले सभापति शेरबहादुर देउवापक्षले पेलेर अघि बढेको भन्दै सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन्।
यदि आफूहरूलाई पेलेर गएमा बिद्रोह गर्ने समेत बताएका छन्। आजबाट यो समूहले पार्टी कार्यालयमा आज धर्ना दिँदैछ । गत सोमबार बसेको शेखर समूहको बैठकले पार्टीको आन्तरिक एकता, समान अवसर र न्यायका लागि भन्दै पार्टी कार्यालयमा धर्ना बस्ने निर्णय गरेको थियो।
शेखर समूहले बनाएको खबरदारी अभियानको आयोजना गरेको धर्ना कार्यक्रम दिउँसो १ बजे सुरु हुनेछ। एक घण्टासम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिइने अभियानले जनाएको छ।
१४ गतेसम्म पनि समानुपातिक सूची नसच्याए थप विरोधका कार्यक्रम तय गर्ने संस्थापनइतर समूहको तयारी छ। कांग्रेसले समानुपातिकमा पठाएका ११० उम्मेदवारमध्ये करिब १० जना मात्र शेखर समूहको परेका छन्। यो समूहले आफूहरूलाई ४० प्रतिशत सिट पाउनु पर्ने बताउँदै आएको छ।

