

‘सबै दल एक भएर तेस्रो जनआन्दोलन गर्नुपर्ने अवस्था आयो’

काठमाडौं – पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले केपी ओली फाँसीवादी र हिटलरकै बाटोमा हिँडेर संसद् विघटन गरी प्रतिगमनको यात्रातर्फ लागेको आरोप लगाएका छन् ।
उनले प्रधानमन्त्री ओली शक्ति आर्जन गर्दै ७ दशकको उपलब्धि मासेर जालझेल र फाँसीवादी शैली देखाएको बताएका छन् । शुक्रवार बिहान बुटवलमा भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले भने, ‘प्रतिनिधि सभा विघटन गर्ने ओलीको कदम संविधान र लोकतन्त्रमाथिकै प्रहार हो ।’ भट्टराईले ओली अगाडि बढेको प्रतिगमनको यात्रालाई रोक्न तेस्रो जनआन्दोलन आवश्यक रहेको बताए ।
‘इतिहास जोगाउन अब सबै राजनीतिक दल, नागरिक समाज मिलेर तेस्रो जनआन्दोलन गर्नुपर्ने आवश्यकता देखियो । यसका लागि सबै देशभक्त नागरिक एक हुनुको विकल्प छैन,’ उनले भने । ओलीले सबै संवैधानिक अंगहरूमा खल्तीबाट आफ्ना मान्छे भरेको दाबी समेत भट्टराईले गरे ।
उनले थपे, ‘संवैधानिक अंगमा आफ्ना मन्छे भरे । सुरक्षा अंगहरूमा पनि चलखेल गरेका छन् । सबै सेटिङ मिलाएर संसद् भंग गरेका हुन् ।’

