सबैभन्दा धेरै मतदाता र मतदान केन्द्र मोरङमा, कम मुस्ताङमा

१० क्षेत्र भएको काठमाडौको भन्दा ५ क्षेत्र भएको झापाको ११ हजार मतदाता बढी


काठमाडौं – निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र ७ वटा प्रदेश सभाको लागि हुने निर्वाचनको लागि अन्तिम मतदाता नामावली प्रकाशित गरेको छ ।

आयोगका सहसचिव तथा प्रवक्ता शालिकराम शर्मा पौडेलले शुक्रबार सार्बजनिक गरेको विवरण अनुसार सबैभन्दा बढी मतदाता भएको जिल्ला मोरङ भएको छ । यहाँ सात लाख३५ हजार ५२५ मतदाता रहेको छन् । दोश्रो धेरै मतदाता भएको जिल्ला झापामा भने ६ लाख ६३ हजार ३११ र काठमाडौं जिल्लामा ६ लाख ५२ हजार १२६ रहेको छ ।

सबैभन्दा बढी मतदातन केन्द्र पनि मोरङमा छन् । यहाँ आठ सय ३९ मतदान केन्द्र राखिएको छ भने दोश्रो धेरै मतदान केन्द्र काठमाडौंमा ७ सय ६७ केन्द्र छन् । झापामा भने काठमाडौं जिल्लाको भन्दा एक कम अर्थात ७ सय ६६ मतदान केन्द्र रहेका छन् ।

सरकारले जनसख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्दा वाहिर जिल्लाबाट आएका बासिन्दा काठमाडौंमा बढी भएकाले काठमाडौंको भन्दा ११ हजार एक सय ८५ मतदाता भएको झापामा ५ वटा मात्र निर्वाचन क्षेत्र रहेका छन् । तर झापाको भन्दा कम मतदाता रहेको काठमाडौंमा भने १० वटा निर्वाचन क्षेत्र रहेका छन् ।

राज्यले निर्वाचन क्षेत्र निर्धारण गर्ने नीति र मापदण्ड गलत हुँदा काठमाडौंभन्दा बढी जनसख्या भएका अर्को जिल्ला मोरङमा पनि ६ वटा मात्र निर्वाचन क्षेत्र रहेको छ । मोरङमा काठमाडौंको भन्दा ८३ हजार ३८८ मत धेरै छ तर यहाँबाट प्रतिनिधिसभामा प्रत्यक्ष तर्फ ६ जना मात्र जनप्रतिनिधि चुनिन्छन् ।
सबैभन्दा कम मतदाता मनाङमा ६ हजार ७७९, त्यसपछि मुस्ताङमा १० हजार ९५७ र डोल्पामा २२हजार ७७४ मतदाता रहेका छन् । सबैभन्दा कम

मतदान केन्द्र पनि मनाङमा २८ वटा, मुस्ताङमा ३९ वटा र रसुवामा ५२ वटा रहेका छन् । रसुवामा मतदान केन्द्र थोरै भए पनि डोल्पाको भन्दा बढी मतदाता रहेका छन् ।

आयोगले देशभर मतदान स्थलको सख्या १० हजार ८९१ र मतदान केन्द्रको सख्या २२ हजार २२६ रहने जनाएको छ । प्रदेशका आधारमा सबैभन्दा बढी मतदाता बागमति प्रदेशमा ३४ लाख ७१ हजार ४९२, त्यसपछि प्रदेश १ मा ३३ लाख ९६ हजार ८६५ र मधेश प्रदेशमा ३३ लाख ८६ हजार ६२८ रहेका छन् ।

सबैभन्दा बढी मतदान केन्द्र भने मधेश प्रदेशमा रहेका छन् । यहाँ ४ हजार २३५ मतदान केन्द्र रहेका छन् भने दोश्रो धेरै मतदान केन्द्र बागमती प्रदेशमा ४ हजार १४३ रहेको छन् । प्रदेश १ मा भने चार हजार ९९ केन्द्र रहने भएका छन् ।

सबैभन्दा कम मतदाता, कर्णाली प्रदेशमा १० लाख ८ हजार ४०३, सुदूरपश्चिम १६ लाख ५८ हजार चार मतदाता र गण्डकी प्रदेश १८ लाख १७ हजार ५४१ रहेको छ । लुम्बिनी प्रदेशको भने २५ लाखभन्दा बढी रहेको छ ।

सबैभन्दा कम मतदान केन्द्र पनि कर्णाली प्रदेशमा रहेको छ । यहाँ १ हजार ४०३ वटा मतदान केन्द्र छ भने सुदूरपश्चिममा २ हजार १४६ र गण्डकीमा २ हजार ३३९ रहेका छन् ।

आयोगले शुक्रबार सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीमा कुल मतदाताको सख्या एक करोड, ७९ लाख ८८ हजार ५७० रहेको जनाएको छ । आयोगले साउन १९ गतेभित्र मतदाता नामावलीमा नाम टिपाएका आधरमा त्यो संख्या अद्यावधिक गरेको जनाएको छ । कूल मतदातामध्ये महिला ८८ लाख, ४७ हजार ,५७९ रहेको छ भने पुरुषको सख्या ९१ लाख,४० हजार ,८०६ रहेको छ ।

 

प्रतिक्रिया