

नेकपा समाजवादीका अध्यक्ष बस्नेत घर तोडफोड

भक्तपुर – नेकपा (एकीकृत समाजवादी) भक्तपुर जिल्ला अध्यक्ष श्यामसुन्दर बस्नेतको मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघर नागरिक अस्पताल पछाडि रहेको घरमा हतियारधारी समूहले प्रवेश गरी तोडफोड गर्नुका साथै अपहरणको प्रयास गरेका छन् ।
आज बिहान करिब ३ बजे हतियारधारी समूहले समाजवादीका अध्यक्ष बस्नेतको घरमा चार/पाँच जना व्यक्ति प्रवेश गरी ढोका तोडफोड गरेको, एक थान मोवाइल र जुत्ता लगेको पाइएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले बताए ।
उनले भने, “घटना फरक प्रकृतिको रहेकाले छ, यसलाई हामीले गम्भीर रुपमा अनुसन्धान अगाडि बढाइएको छ । घटनाबारे परिसरका प्रहरी उपरीक्षकसहित अनुसन्धान टोलीले निरीक्षण गरेको छ ।” उनले प्रहरी वृत्त थिमिका प्रमुख एवं प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीसहितको टोली दिनभर घटनास्थलमा रहेर विभिन्न कोणबाट अनुसन्धान अगाडि बढाइएको बताए । हतियारधारी समूह समाजवादीका अध्यक्ष बस्नेतलाई अपहरण गर्ने प्रयास स्वरुप आएको तर उनलाई नभेटेपछि तोडफोड गरेर फर्किएको हुनसक्ने प्रहरीको अनुमान छ ।
सो घटनाबारे जानकारी दिँदै अध्यक्ष बस्नेतले भने, ‘म हिजै मात्र पोखरा गएको थिए, राति पेस्तोलसहित आएको टोलीले मेरो घरको ढोका तोडफोड गरी म सुत्ने कोठामा प्रवेश गरेर मेरो श्रीमतीको कन्चटमा पेस्तोल राखेर दुई झापड हानेर मेरो खोजी गरेका छन् । मेरो जेठो छोरा आएपछि उसलाई समाउन खोज्दा आएका मध्येबाट एक जनाले त्यो होइन छाडिदे भने पछि छोरालाई पनि दुई झापड हानेर गएको र मेरो अपहरण गर्ने उद्देश्यले आएको आशंका मैले गरेको छु ।’ अपराधी समूहले घर कम्पाउण्डको गेट फुटाएरभित्र पसेको, त्यसपछि घरको मुख्य ढोका फुटाएर चेन गेटसमेत फुटाएर कोठामा छिरेको पाइएको उनले बताए ।

