जो बाइडनः राष्ट्रपति पद सम्हाल्नेबित्तिकै उल्ट्याए ट्रम्पका यी नीति


कार्यकालको पहिलो दिन अमेरिकी राष्ट्रपति जो बाइडनले कैयन् कार्यकारी आदेश जारी गर्दै आफ्नो प्रशासनको प्राथमिकता प्रष्ट पार्ने प्रयास गरेका छन्।

कार्यभार सम्हालेको केही घण्टाभित्रै उनले जारी गरेका कार्यकारी आदेशमध्ये कतिपयले ट्रम्प प्रशासनको नीति उल्ट्याइदिएका छन्।

‘हामीले सामना गरिरहेको सङ्कटसँग जुझ्ने क्रममा खेर फाल्ने समय हामीसँग छैन,’ शपथ ग्रहणपश्चात् ह्वाइट हाउस प्रवेश गर्नुअगाडि राष्ट्रपति जो बाइडनले ट्वीट गरेका थिए।

उनले कोरोनाभाइरस महामारीको सङ्कट सम्बोधनमा सङ्घीय कारबाही तीव्र पार्न कार्यकारी आदेशहरू जारी गरेका छन्।

उनले जारी गरेका अन्य आदेशहरूले चाहिँ विगतमा ट्रम्प प्रशासनले जलवायु परिवर्तन, आप्रवासन तथा जातीय सम्बन्धबारे अख्तियार गरेका नीति उल्ट्याइदिनेछ।

कार्यकारी आदेश जारी गरिएको वक्तव्यमा भनिएको छ ती आदेशहरूमार्फत् राष्ट्रपति बाइडनले ‘ट्रम्प प्रशासनले पुर्‍याएको क्षति उल्ट्याउने मात्र नभइ देशलाई अघि बढाउनेछन्।’

उनका मुख्य आदेश कस्ता छन् ?

कोरोनाभाइरस महामारी
चार लाख अमेरिकीहरूको ज्यान लिइसकेको कोरोनाभाइरस महामारीसँग जुझ्ने विभिन्न उपायहरू ती आदेशमा रहेका छन्। तिनका मुख्य बुँदा यस प्रकार छन्:

  • विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्यूएचओ०बाट फिर्ता हुने अमेरिकी कार्यको अन्त्य गरिने। भाइरस विज्ञ डा एन्थोनी फाउचीले यसै साता हुने डब्ल्यूचओको अन्तर्राष्ट्रिय कार्यकारी समितिको बैठकमा अमेरिकाको प्रतिनिधित्व गर्दै भाग लिने
  • कोभिडको राष्ट्रिय सम्बोधन गर्ने कार्य केन्द्रीकृत गर्दै सुरक्षा सामग्री, खोप तथा परीक्षण सामग्रीको वितरणमा समन्वय बढाउने
  • सबै सङ्घीय परिसरमा मास्क तथा दूरीको नियम पालना गरिने
  • आगामी १०० दिनसम्म मास्क लगाइरहन मानिसहरूलाई आग्रह गर्नेगरी १०० दिने मास्क चुनौती अभियान थालनी गरिने

जलवायु सङ्कट
वातावरणसम्बन्धी कतिपय ट्रम्प प्रशासनका नीतिहरू बाइडनले उल्ट्याउन चाहेका छन्। त्यसको निम्ति उनको आदेशमा भनिएको छस्

  • सन् २०१५ मा हस्ताक्षर गरिएको प्यारिस जलवायु सम्झौतामा अमेरिका पुनस् सामेल हुने
  • विवादास्पद किस्टोन एक्सएल पाइपलाइन निर्माण रद्द। वातावरणवादी तथा अमेरिकी आदिवासीहरूले उक्त परियोजनाको दशकौँदेखि विरोध गर्दै आएका थिए

आप्रवासन
आप्रवासनको विषयमा उनको आदेशमार्फत् बाइडनले दुई प्रमुख निर्णय गरेका छन्स्

  • ट्रम्पले लागु गरेको तथाकथित मुस्लिम प्रतिबन्धअन्तर्गत केही मुस्लिम बहुल देशबाट यात्रामा लगाइएको प्रतिबन्ध फुकुवा
  • मेक्सिकोसँगको सिमानामा पर्खाल निर्माणकार्य बन्द

आदेश गर्नु त सजिलो पाटो हो – एक विश्लेषण
बीबीसीका एन्थोनी जर्कर भन्छन् – जो बाइडन तथा उनका टोलीसँग यी प्रारम्भिक कदमको तयारीका निम्ति झन्डै तीन महिना उपलब्ध थियो।

डोनल्ड ट्रम्पले उनको कार्यकारी आदेश जारी गर्न सक्ने शक्तिलाई आफ्नो राजनीतिक एजेन्डा अघि बढाउन प्रयोग गरेका थिए। त्यसैले बाइडनले कहिले र कसरी ती काम उल्ट्याउँछन् भन्ने कुरा महत्त्वपूर्ण हुन्छ।

बाइडनले त्यसो गर्न धेरै समय लगाएनन्। तर कार्यकारी आदेश जारी गर्नु त बाइडनका लागि सबभन्दा सजिलो पाटो हो। खास परिवर्तन गर्न त अब उनले यी विषयलाई दीर्घकालीन स्थायीत्व दिनेगरी नीतिगत व्यवस्था गर्न सक्नुपर्छ।

त्यसका निम्ति उनले कङ्ग्रेससँग हातेमालो गर्दै अगाडि बढ्नुपर्छ। संसद्को दुवै सदनमा डेमोक्र्याटहरूको झिनो बहुमत रहेकाले बाइडनलाई अवसर भने छ।

तर त्यसका निम्ति उनले रिपब्लिकनहरूले तेर्स्याउन सक्ने प्राविधिक तथा प्रक्रियागत अवरोध छिचोल्न सक्नुपर्नेछ। यहीँनेर बाइडनको दशकौँ पुरानो अनुभव काम लाग्न सक्छ।

बीबीसी

प्रतिक्रिया