पहिलो १०० दिनमा ट्रम्पका नीतिलाई उल्ट्याउने र कोभिड नियन्त्रणमा जाेड दिने याेजना


काठमाडाैं – बुधवार जो बाइडन अमेरिकाका राष्ट्रपति पदभार समालेसंगै उनले ट्रम्पका विनाशकारी नीतिलाई उल्ट्याउनका लागि कार्यकारी आदेश जारी गरिसकेका छन् । पहिलो दिन नै उनले यस्तो कदम चालेका हुन् । उनको कार्यकालको पहिलो १०० दिनमा सबैको नजर हुनेछ । विशेषगरी कोभिड नियन्त्रणमा उनको जोड हुने बताइएको छ ।

उनले अमेरिकालाई पेरिस जलवायु सम्झौतामा पुनः आबद्ध गराएका छन् । मुसलमानबहुल देशका नागरिकलाई अमेरिकामा यात्रा प्रतिबन्ध लगाउने निर्णयलाई उनले खारेज गरेका छन् । कीस्टोन एक्सएल पाइपलाइनलाई रोक्ने आदेश पनि उनले दिएका छन् ।

अनि संघीय भवनहरूमा प्रवेश गर्दा मास्क अनिवार्य लगाउन पनि उनले आदेश जारी गरेका छन् । बाइडनले अमेरिकाकै इतिहासमा सबभन्दा समावेशी मन्त्रिपरिषद् बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बाइडनले गर्नुपर्ने कामहरूको सूची लामो छ । पहिला त उनले विभाजित अमेरिकी समाजलाई एकताबद्ध बनाउन प्रयास गर्नुपर्ने हुन्छ । अनि त्यसमाथि पूर्ववर्ती राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाअभियोग प्रस्तावमा सिनेटले छलफल गर्नुपर्नेछ ।

यसअघिका राष्ट्रपतिहरूको कार्यकालको पहिलो १०० दिनको तुलनामा बाइडनलाई बढी चुनौती छ किनकि उनले आफ्ना पूर्ववर्तीका निर्णयहरू उल्ट्याउनुपर्नेछ । अनि महामारीका कारण अस्तव्यस्त भएको मुलुकलाई स्थिर बनाउनुपर्नेछ ।

प्रतिक्रिया