पशुपति क्षेत्रका अव्यवस्थित संरचना तत्काल हटाउन निर्देशन


काठमाडाैं – काठमाडौं महानगरपालिका वडा–८ का वडा अध्यक्ष आशामान संगतले पशुपतिनाथ वरपर रहेका अवैध संरचनाहरू तत्काल हटाउन व्यवसायीहरूलाई निर्देशन दिएका छन् । काठमाडौं महानगरपालिकाले सूचना जारी गर्दै अव्यवस्थित संरचनाहरू तत्काल अटाउन आग्रह गर्दा अटेर गरेको भन्दै बिहीवारबाट अव्यवस्थित संरचना हटाउन थालिएको छ ।

पटक–पटक आग्रह गर्दासमेत व्यवसायीहरूले नमानेपछि आफै फिल्डमा उत्रिनु परेको वडाध्यक्ष संगतले बताए । उनले काठमाडौं महानगरले अव्यवस्थित संरचना हटाउँदै आइरहेको र वडाध्यक्षहरूको यसमा साथ र समर्थन रहेको बताए । उनले अव्यवस्थित संरचनाहरू खाली गराउन सके सबैमा समस्याको समाधान हुने बताए ।

पाशुपत क्षेत्रका पसल व्यवसायीहरूलाई आग्रह गरिएको र यसलाई अवज्ञा गर्दै गए शुक्रवारदेखि नै महानगरले सामान उठाएर लानेसमेत संगतले चेतावनी दिए । पशुपति क्षेत्र विकास कोषले अव्यवस्थित संरचनाहरू भाडामा दिएर भाडा उठाइरहेकाले वडामा समेत दर्ता नभएका पसल संरचनाहरू बन्द गरिएको समेत वडाअध्यक्ष संगतले जानकारी दिए ।

अव्यवस्थित संरचनामा व्यापार व्यवसाय गर्दै आइरहेका व्यापारीहरूले चाडवाडको बीचमा रोजीरोटी गुम्ने अवस्था आएकोले महानगर तथा वडाको सूचनालाई आत्मसात गर्दै संरचना तथा पसलहरू तत्काल हटाउने बताएका छन् ।

केही गर्न खोज्दा एकपक्षलाई फाइदा तथा अर्को पक्षलाई घाटा हुने बताउँदै उनीहरूले सबैको राम्रो हुने कामलाई साथ सहयोग गर्ने आग्रहसमेत व्यक्त गरेका छन् । काठमाडौं महानगर पालिकाले हाल महानगरभित्र रहेका अवैध संरचनाहरू हटाउँदै आइरहेको छ ।

प्रतिक्रिया