

अरुण तेस्रोका भारतीय ठेकेदारले साढे ६ करोड नदिएको भन्दै नेपाली पेटी– ठेकेदारको रुवाबासी

काठमाडौं– संखुवासभास्थित अरुण तेस्रो जलविद्युत आयोजनाको ठेक्का पाएको भारतीय कम्पनी पटेल इन्जिनियरिङ कम्पनीले पेटी ठेकेदारहरुलाई साढे ६ करोड रुपैयाँ नदिएर बर्बाद पारेको खुलासा भएको छ ।
भीम कर्णाली हाइड्रो कन्ट्रक्सन कम्पनीको सञ्चालक कालिकोटका दिनेशबहादुर शाहीले पटेल इन्जिनियरिङ कम्पनीले आफूहरुलाई यति धेरै रकम नदिएर मर्कामा पारेको बताएका हुन् । बुधबार राजधानीमा रिपोर्टर्स क्लवमा पत्रकार सम्मेलन गर्दै शाहीले प्रधानमन्त्री, गृहमन्त्री तथा ऊर्जा मन्त्रालयमा हारगुहार गर्दा पनि कतैबाट राहत नपाएको रुदै गुनासो पोखेका हुन् ।
उनले भने,‘सबै मन्त्रालयले यसमा हामी केही गर्न नसक्ने भन्दै पन्छिएर मलाई आफै समस्या सल्टाउन सल्लाह दिए।’ उनले जिल्ला प्रशासन कार्यालय संखुवासभाले चार पटकसम्म दुवै पक्षलाई बोलाएर कागज गरेपनि कम्पनीले कार्यान्वयमा फिटिक्कै चासो नदिएको गुनासो गरे ।
उनले संखुवासभाको प्रमुख जिल्ला अधिकारीले सरकारको विषय भएकोले आफुले गर्न नसक्ने जवाफ दिएको बताए ।
आफुले तिर्नुपर्ने रकम दिन साथीहरुलाई चेक दिएको सुनाउँदै सोही चेक बाउन्स भएपछि आफु प्रहरीकोमा जान परेको समेत उनले बताए । आफुले कन्ट्रयाक पेटी ठेकेदारी काम गरेको उल्लेख गर्दै पैसा तिर्नुपर्नेहरुले धम्की दिन थालेको बताए ।
शाहीले भने,“साथीहरुले फोन गर्नुहुन्छ, नउठाए मेसेन्जरबाट धम्की दिनुहुन्छ, फोन उठाए फोनबाटै धम्की दिने गरेका छन् ।चेक बाउन्स भएपछि प्रहरीले २७ गतेसम्म पैसा भुक्तान नगरे जेल जानु पर्ने भनिरहेको छ । कसरी तिरु खै मैले ?’
उनले आफु प्रेसरको बिरामी भएको समेत सुनाए । शाहीले राज्यलाई मात्रै राजस्व तिर्न १ करोड ७ लाख रहेको रुदै सुनाए । पटेल कम्पनीले खुलेआम ‘तेरो पैसा दिन्न’ भनेको उनले सुनाए ।
संखुवासभाको मकालु गाउँपालिकामा अवस्थित रहेको अरुण तस्रो जलविद्युत आयोजनाको क्षमता ९ सय मेगावाट रहेको छ । आयोजनाको कुल लागत १ खर्ब ४ अर्ब रुपैयाँ रहेको र निर्माण कार्य ५ वर्षमा सकिने जनाइएको छ ।
नेपाल भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त रुपमा आयोजनाको शिलन्यास गरेका थिए।
भारतको सतलज हाइड्रो कम्पनीले आयोजनाको ठेक्का पाएको छ । कम्पनीले अनुमति अनुसार २२५ मेगावाट क्षमताको ४ वटा टर्बाइन मार्फत ९ सय मेगावाट उत्पादन हुने जनाइएको छ।
।

