
‘बालेन जी ! तपाईं राज्य हो, नियम-कानुन तोड्नेहरु व्यक्ति हुन्’
काठमाडौं – रविन्द्र मिश्रले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहलाई नियम–कानुनको ख्याल गर्न अनुरोध गरेका छन् ।
पछिल्ला दिनमा काठमाडौं मेयर बालेनले विभिन्न अनधिकृत निर्माण रोक्ने र भत्काउने सम्बन्धी कार्य गरिरहेका छन् ।
रविन्द्रले सामाजिक सञ्जालमा लेख्दै बालेनलाई नियम कानुनको ख्याल गरेर अगाडि बढ्न सुझाव दिएका छन् । अन्यथा अदालतले काम रोकिदिन सक्छ, त्यसैले कानुनको पालना गर्दै अधिकार क्षेत्रभित्र पर्ने कसैलाई पनि नछाड्नका लागि अनुरोध गरेका छन् । उनले अगाडि लेखेका छन्, ‘तपाईं राज्य हो, नियम–कानुन तोड्नेहरु व्यक्ति हुन् ।’
उनले कानुनलाइ जोड दिएको कुरा उल्लेख गर्दै भनेका छन्, ‘हत्याराले हत्या गर्यो भनेर राज्यले हत्याराको हत्या गर्न मिल्दैन। चोरले चोर्यो भनेर राज्यले पनि चोर बाटो लिन मिल्दैन।’
रविन्द्र लेख्छन्,
बालेन (Balen) जी,
जे गर्दै हुनुहुन्छ, गज्जब गर्दै हुनुहुन्छ। नियम-कानूनको चाहिँ अलि ख्याल गर्नुहोला। अन्यथा फेरि पछि अदालतले काम रोकिदिन्छ। तपाईंले चाहेर पनि काम गर्न पाउनु हुन्न।
पार्किङ्ग स्थलको गलत प्रयोगसँगै, सम्पदा/नदी/बाटो/फुटपाथ/सार्वजनिक जमिनको अतिक्रमण, मापदण्ड/नक्शा विपरितका/तोकिएभन्दा अग्ला घरहरू सबैमा डोजर लगाउनै पर्ने छ।
नियम-कानूनको पालना गरेर तपाईंको अधिकार क्षेत्रभित्र पर्ने कसैलाई नछोड्नु होला। मैले नियम-कानूनमा किन जोड दिएको भने, हत्याराले हत्या गर्यो भनेर राज्यले हत्याराको हत्या गर्न मिल्दैन। चोरले चोर्यो भनेर राज्यले पनि चोर बाटो लिन मिल्दैन।
तपाईं राज्य हो। नियम-कानून तोड्नेहरू व्यक्ति हुन्। राज्यले नियम-कानूनको पालना नगर्दा नै आज देशको हविगत यस्तो भएको हो।



कागजपत्र |
