

तनहुँ-१ बाटै चुनाव लड्छु : नेता पौडेल

काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी मंसिर ४ गते हुने निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ बाटै उम्मेदवार बन्ने बताएका छन्।
तनहुँको भानु नगरपालिका-१ भन्सारमा शनिबार आयोजित कार्यकर्ता भेटघाटमा कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानको रक्षाका लागि गठबन्धन गरिएको र गठबन्धनले आगामी दिनमा पनि निरन्तरता पाउने दाबी गरे।
निर्वाचनको मिति तोकिएसँगै वरिष्ठ नेता पौडेलले गृहजिल्लामा कार्यकर्ता भेटघाटलाई तीव्र बनाइरहेका छन्।
उनले भेटघाटको क्रममा विकासबाहेक आफ्नो अरु स्वार्थ नभएको प्रष्ट पारे। जिल्लाको विकास र समृद्धि नै आफ्नो लक्ष्य रहेको बताए।
जिल्लाको विकास र समृद्धिबाट जनताको जीवनस्तर उकास्नका लागि राजनीति गरेको उनको भनाइ छ।
उनले शनिबार भानु नगरपालिका–३ खहरे, भानु नगरपालिका–६ कटहरे, शेपाबगैंचा, भानु नगरपालिका–५ नारेश्वरटारलगायतका ठाउँमा कार्यकर्ता भेटघाट गर्ने कार्यक्रम रहेको छ।

