चितवनमा बाघले गोही खाएपछि…


चितवन – चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन् केन्द्रका घडियाल गोही बाघले खाइ दिएको छ । बाघले गोही खाएको यहाँको यो पहिलो घटना हो । दुई बाघ जुधेपछि घाइते बनेको बाघले प्रजनन केन्द्रमा रहेको गोही खाएको हो ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार घाइते बाघले शिकार गर्न नसकेपछि मानिस छिर्ने गरेको केही होचो पर्खाल नाघेर प्रजनन केन्द्र छिरेको थियो । यहाँ रहेका अन्दाजी १२ वर्षका माउ गोही खाएको उनले जानकारी दिए ।

बिहानको समयमा बाघले गोही खाएको हो । गोही खाने बाघ अन्दाजी १२ वर्षको भाले हो । सूचना अधिकारी तिवारीले भने, ‘बाघले गोही खाएको मैले सुनेको पहिलो घटना हो ।’

गोही खाएपछि बाघलाई ‘डाटर्’ गरेर नियन्त्रणमा लिई बाँके पठाइएको छ । सो दिन पानी परेकाले ढिलो गरी कर्मचारी प्रजनन केन्द्र गएकाले बाघको आक्रमणबाट बचेका थिए ।

बाघले आक्रमण गरी घाइते बनाएको गोहीलाई बाघ भएको स्थान नजिक लगेर राखी खान आएको समयमा बाघलाई नियन्त्रणमा लिइएको थियो । यसअघि बाँकेबाट एउटा बाघ यहाँ ल्याइएको थियो । यहाँ खोर खाली नभएपछि बाँके पठाइएको हो । हाल सौराहामा दुई र कसरामा दुईवटा बाघ खोरमा छन् ।

प्रतिक्रिया