
सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै, आज सिट बाँडफाँटको खाका बन्ला त?
काठमाडौं- सत्ता गठबन्धनमा आबद्ध दलद्वारा गठित निर्वाचनको सिट बाँडफाँडसम्बन्धी कार्यदलको बैठक आज बस्दै छ । गएको बिहीबार आज बस्ने गरी कार्यदलको बैठक टुंगिएको थियो।
बैठक दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ। आसन्न प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँडमा सहयोग गर्न कार्यदल बनाइएको हो।
बिहीबारको बैठकमा कार्यदल सदस्यहरूबीच ०७४ सालको निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ प्राप्त मत, ०७९ को स्थानीय तह निर्वाचनमा प्राप्त मत र दलहरूको राजनीतिक संवेदनशीलताका आधारमा सिट बाँडफाँडको सैद्धान्तिक समझदारी बनेको थियो।
गठबन्धन दलहरूका आ–आफ्ना अडानसहित आजको बैठकमा प्रस्तुत हुने गरी उक्त बैठक सकिएको थियो। कांग्रेसका एक नेताका अनुसार विगतमा वाम गठबन्धन हुँदा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)ले जितेका स्थानमा नेपाली कांग्रेसका शीर्ष तहका प्रभावशाली नेताहरू रहेको र अहिलेको जनमत पनि कांग्रेसकै पक्षमा देखिएकाले राजनीतिक संवेदनशीलताको विषय उठेको हो।
कार्यदलमा नेपाली कांग्रेसबाट नेता कृष्णप्रसाद सिटौला संयोजकसहित महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की सदस्य छन्। यस्तै, माओवादी केन्द्रबाट देवप्रसाद गुरुङ र वर्षमान पुन छन् । एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल रहेका छन् । जसपाबाट रामसहाय यादव, रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन्।
यसैबीच, गठबन्धनका शीर्ष नेताको बैठकले कार्यदललाई छिटो प्रतिवेदन तयार गर्न निर्देशन दिएको छ। आइतबार बालुवाटारमा बसेको बैठकले कार्यदललाई चाँडोभन्दा चाँडो कार्य सम्पन्न गर्न निर्देशन दिएको कांग्रेस नेतासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।



कागजपत्र |
