

उदयपुरमा सप्तकोसीकाे बाँध फुट्याे, उच्च सतर्कता अपनाउन आग्रह

सप्तरी – सप्तकोसी नदीले उदयपुरको वेलका नगरपालिका-८ लाहुरेखोच डुम्रीबोटमा बाँध फुटेपछि सप्तरीको पूर्वी तथा उत्तरी भेगका २ नगरपालिकामा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार बेलका नगरपालिका-८ लाहुरेखोच डुम्रीबोटमा बाँध भत्किएर कटान गर्न थालेपछि सप्तरीको सप्तकोसी नगरपालिका र कञ्चनरुप नगरपालिकाको केही वडामा जोखिम बढेको भन्दै यस क्षेत्रका वासिन्दालाई सतर्क गराइएको छ ।
सप्तकोसी नगरपालिकाको ६ र ७ मा पानी पस्ने सम्भावना रहेको छ । कञ्चनरुप नगरपालिका–१, २, ४, ५, ६ र १० उच्च जोखिम रहेको नगर प्रमुख ललन गुप्ताले जानकारी दिए ।
सप्तकोसी नदीको छेउछाउका बस्तीतर्फ ईलाका प्रहरी कार्यालय कञ्चनपुर, हनुमाननगर, भारदह, प्रहरी चौकी फत्तेपुरबाट टोली खटाई स्थानीयलाई सचेत रहन जानकारी गराउने कार्य भइरहेको सप्तरीका प्रहरी उपरीक्षक अविनारायण काफ्लेले बताए ।
यी क्षेत्रका वासिन्दालाई सतर्क रहन आग्रह तथा सुरक्षित स्थानमा बस्नका लागि समेत आग्रह गरिएको उनले बताए । बाढी नियन्त्रण नआउञ्जेलसम्मका लागि कोसी बाँधतर्फ नजान, गाई, भैंसी, बाख्रा नचराउन र माछा मार्न नजान सप्तरी प्रहरीले आम नागरिकलाई आग्रह गरेको छ ।
सप्तरीको हनुमानगर कंकालिनी नगरपालिका-१३ स्थित गोबरगाढामा समेत बाढी आउन सक्ने भएकाले सतर्क रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । यसैबीच प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको नेतृत्वमा एक टोलीले सप्तरीको सप्तकोसी नगरपालिका र कञ्चनरुप नगरपालिकामा बाढी आउन सक्ने ठाउँको निरीक्षण गरेको छ ।

