
साफ यू-२० च्याम्पियनसिप : आज नेपाल र भारत भिड्दै
काठमाडौं- साफ यू-२० च्याम्पियनसिप फुटबलअन्तर्गत आज नेपालले भारतको सामना गर्दैछ। भुवनेश्वरस्थित कालिंगा स्टेडियममा नेपालले बलियो घरेलु टोली भारतको सामना गर्नेछ । नेपाल र भारतबीचको खेल बेलुका ७:१५ बजे सुरु हुनेछ।
भारतविरुद्ध मैदान उत्रदा नेपाल लगातार तेस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ४-० र दोस्रो खेलमा नेपालले श्रीलंकालाई ३-० गोल अन्तरले हराएको थियो।
नेपाल २ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। भारतलाई हराएमा नेपाल शीर्ष स्थानमा उक्लनेछ। भारत पनि नेपाललाई हराएर दोस्रो जित निकाल्न चाहन्छ । भारत २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ। नेपालले आफ्नो अन्तिम खेलमा बंगलादेशसँग मंगलबार प्रतिस्पर्धा गर्नेछ।
नेपाली टिमका मुख्य प्रशिक्षक मेघराज केसीले भारतविरुद्ध जितका लागि खेल्ने बताउँछन्। ‘हामी नेपालबाट भारत आउँदा नै चारवटा देशसँग खेल्न भनेर आएका हौँ, र हामीले सबै प्रतिस्पर्धी टिमलाई एकै नजरले हेरिरहेका छौँ। हामी हाम्रो टिममा विश्वास गर्छौँ। नेपालले मेहनत अनुसारको प्रदर्शन गर्नेमा ढुक्क छु । नेपालले भारतविरुद्ध जितका लागि खेल्नेछ,’ केसीले भने।
प्रशिक्षक केसीका अनुसार टिममा कुनै समस्या नरहेको तथा कुनै पनि खेलाडी घाइते नरहेको बताए।



कागजपत्र |
