
देउवालाई गगन-विश्वको एकै जवाफ : हामी पनि निर्वाचित महामन्त्री हौँ, ख्याल गर्नुस् मनलाग्दी नगर्नुस्
काठमाडौं- नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवालाई एकस्वरमा चेतावनी दिएका छन्। शनिबारको केन्द्रीय समिति बैठकमा दुई महामन्त्रीले एकस्वरमा देउवालाई चेतावनी दिँदै अब आफूहरु चुप लागेर नबस्ने बताएका हुन्।
उनले आफूहरुलाई अझै पनि पाखा लगाउने प्रयास गरिए र घेराबन्दीको प्रयास जारी राखे राखे चुप लागेर बस्न नसकिने चेतावनी दिएका हुन्। उनीहरुले सभापतिको बचाऊ गर्ने नाममा आफूहरुको आलोचना गर्ने केन्द्रीय सदस्यहरुलाई पनि परिस्थितिको मूल्यांकन गर्न चेतावनी दिएका छन्।
नेतृत्वलाई सच्याउने नाममा अघि बसेर घण्टी नबजाउन उनीहरुले चेतावनी दिएका थिए। ‘हामी पनि निर्वाचित महामन्त्री हौं, यो कुरा सभापतिज्यूले ख्याल गर्नुस्,’ महामन्त्री थापाको भनाइ थियो, ‘अझै पनि भित्तामा पुर्याउने र घेराबन्दी गर्ने हो भने ख्याल गर्नुस्, त्यसको परिणाम राम्रो आउने छैन।’
सभापतिलाई खुसी बनाउन गरिने कुराले पार्टी र सभापतिलाई नै पनि फाइदा नहुने उनले बताए। वर्तमान सरकारको कामले आउँदो निर्वाचनमा कांग्रेसले मत पाउने स्थिति नभएको उनको तर्क छ।
‘हिजो सरकार कसरी चलाउनुपर्छ ओलीलाई भन्यौँ, तर आज कसरी चलेको छ, देखिरहेका छौँ। अझै कति रक्षा गर्ने सरकारको? हामीलाई हिजो हामीले उठाएको प्रश्नले लखेट्छ,’ उनले भने, ‘त्यसको प्रतिरक्षा गर्न सकिँदैन।’
उनले कांग्रेसले अर्थ मन्त्रालय नलिनु गलत भएको पनि बताए। ‘अर्थ मन्त्रालय नलिनु गलत भयो। मन्त्रालयमा ठूलो विकृति छ’ उनले भने।
अबको एक साताभित्र भ्रातृसंगठन र विभाग सबैको टुंगो लगाउनुपर्नेमा उनले जोड दिए। उनले गुटको बैठकमा सहभागी भएको भनेर गरिएको आलोचनाको पनि बचाउ गरे।
अर्का महामन्त्री शर्माले पनि अहिले नेतृत्वको प्रशंसा गर्ने नाममा घण्टी नबजाउन आग्रह गरेका हुन्। ‘हामीले ६ महिनामा विभाग बनाऔँ भनेको सहयोग हो कि असहयोग?,’ उनको टिप्पणी थियो, ‘हजारौं युवा जिम्मेवारीविहीन छन् पूर्णता दिऔँ भनेको असहयोग हो?’
उनले पदाधिकारीको कार्यविभाजन गर्ने अधिकार सभापतिमा निहीत छ त्यो गरौँ भनेर आग्रह गरेको पनि असहयोग हो? भन्दै प्रश्न गरेका थिए।
उनले नेतृत्वसँग विमती राख्नेहरुले होटलमा भेला गर्न हुन्थ्यो कि हुँदैनथ्यो भन्ने फरक कुरा भएको टिप्पणी गर्दै जसले नेतृत्वको प्रशंसाको नाममा घण्टी बजाइरहेको छ त्यसले पार्टीलाई राम्रो नगर्ने बताए।
‘एउटा नेताको पक्षधरता राख्न अर्कोलाई थोरै होच्याउनेगरी बोल्नैपर्छ ?,’ उनको धारणा थियो, ‘नेतृत्वको प्रसंसा गर्ने नाममा ऊँ जय जगदिश हरे भन्दै घण्टी नबजाऔँ। आलोचना गर्ने नाममा डण्डी पनि नचलाऔँ।’



कागजपत्र |
