बाबुरामसहित नेतालाई उपेन्द्रले गरे कारबाही, पार्टीको जिम्मेवारी पनि खोसियो
जनकपुरधाम – जनता समाजवादी पार्टी (जसपा) ले संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईसहित ९ जना नेतालाई कारबाही गर्दै जिम्मेवारीबाट मुक्त गरेको छ ।
वीरगन्जमा आज साँझ सकिएको अध्यक्ष उपेन्द्र यादव पक्षको केन्द्रीय समिति बैठकले संघीय परिषद् अध्यक्ष भट्टराईका साथै केन्द्रीय कार्यकारिणी सदस्यहरु महेन्द्रराय यादव, हिसिला यमी, दुर्गा शेर्पा, प्रशान्त सिंह, गंगा श्रेष्ठ, रमेश यादव, दानबहादुर चौधरी र भक्तबहादुर शाहलाई कारबाही गर्दै पार्टीको पदीय जिम्मेवारीबाट मुक्त गर्ने गरेको हो ।
पार्टी विरुद्धको गतिविधीमा लागेको भन्दै भट्टराई सहित ९ जना केन्द्रीय कार्यकारिणी सदस्यहरुलाई कार्वाही गरि पार्टीको पदीय जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरिएको पार्टी स्रोतले जनाएको छ । यसैगरी जसपाले संघीय परिषद्को जिम्मेवारी पार्टी नेता अशोक राईलाई सुम्पिएको छ । जसपाको बैठक उक्त निर्णय गर्दै राईलाई संघीय परिषद्को अध्यक्ष बनाईएको बताईएको छ ।
भट्टराईसहित ९ जना नेतालाई कारबाही गरिएपनि यसबारे औपचारिक निर्णय जसपाले सार्वजनिक गरेको छैन । वीरगन्जमा दुई दिनसम्म चलेको अध्यक्ष यादव पक्षको बैठकले गरेका निर्णयहरु भोली बिहान वीरगन्जमै पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने बताईएको छ ।