संखुवासभामा डेंगु संक्रमणबाट १ जनाको मृत्यु


संखुवासभा – संखुवासभामा डेंगुको संक्रमणबाट १ जनाको मृत्यु भएको छ । डेंगुको संक्रमणबाट चैनपुर नगरपालिका-५ की ५६ वर्षीया सीतादेवी न्यौपानेको मृत्यु भएको जिल्ला अस्पताल संखुवासभाका सूचना अधिकारी शेखर खत्रीले जानकारी दिए ।

अस्पतालका सूचना अधिकारी खत्रीका अनुसार ५६ वर्षीया न्यौपानेको बिहीवार बिहान जिल्ला अस्पताल संखुवासभामा उपचारका क्रममा मृत्यु भएको हो ।

न्यौपानेलाई उच्च ज्वरो, रुघाखोकीको लक्षण देखिएपछि बुधवार प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा भर्ना गरिएको थियो । प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि जिल्ला अस्पताल ल्याइएको थियो। जिल्ला अस्पतालमा खाँदबारी ल्याइएपछि परीक्षण गर्दा न्यौपानेलाई डेंगु पुष्टि भएको थियो ।

न्यौपानेलाई डेंगुसँगै निमोनिया पनि देखिएको थियो । जिल्लामा यस वर्ष २२ डेंगु संक्रमित भेटिएका छन् । गत वर्ष संखुवासभामा ६९ डेंगु संक्रमित भेटिएका थिए । डेंगु लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो ।

प्रतिक्रिया