तीन महिनापछि खोलियो लुम्बिनीको दानपेटीका, गन्न ४ दिन लाग्ने


काठमाडौँ- बुद्ध जन्मस्थल लुम्बिनीको दानपेटिका आइतबार तीन महिनापछि खोलिएको छ। दानपेटिकामा संकलित रकमलाई सीसीटीभी क्यामेरा जडान गरी गणना सुरु गरिएको छ। लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराई (सिद्धिचरण) को नेतृत्वमा सुरक्षाकर्मी, प्रहरी र अन्य सरोकारवालाहरुको उपस्थितिमा दानपेटिका खोली त्यहाँको रकम गणना सुरु गरिएको हो।

आफूले पद सम्हालेदेखि दानपेटिकामा संकलित दान पारदर्शी बनाउने र यसको सदुपयोग भएको सन्देश दिन सञ्चारकर्मीलाई समेत बोलाएर गणना थालिएको कोषका कोषाध्यक्ष भट्टराईले बताए।

आइतबार एउटा मात्रै दानपेटिका खोलिएको छ। चार वटा दानपेटिका खोलेर संकलित दानको गणना गर्न ४ दिनसम्म लाग्ने उनको भनाइ छ।

विगतमा दानपेटिका चोरी हुने गरेको घटना समेत बाहिरिएको थियो। तर, अहिले लुम्बिनी क्षेत्रको सुरक्षा व्यवस्था समेत चुस्त पारिएकाले चोरी हुने समस्या नरहेको लुम्बिनीका सुरक्षा अधिकृत खगेन्द्र काफ्लेले बताए।

दानपेटिकाको हरेक दिनको मुचुल्का उठाएर संकलित रकम तुरुन्तै बैंकका दाखिला गर्ने गरिएको उनको भनाइ छ। १५–१५ दिनमा दानपेटिका खोल्नुपर्ने भएपनि दानपेटिका भरिएपछि मात्रै खोल्ने निर्णय गरिएको विकास कोषका कोषाध्यक्ष भट्टराईले बताए।

यसअघि २०७८ चैत १८ गते दानपेटिका खोलिएको थियो। त्यसबेला दानपेटिकामा ३७ लाख दान संकलन भएको थियो। लुम्बिनीमा प्रमुख आम्दानीको स्रोतका रुपमा दानलाई लिने गरिएको छ।

आन्तरिक आम्दानीबाटै कर्मचारी र अन्य व्यवस्थापन गर्दै आएको कोषले जनाएको छ। कोभिडपछि भने दानपेटिका लामो समयसम्म खाली हुने गरेको थियो। पछिल्लो समय पर्यटक आन्तरिक र भारतीय पर्यटकको आगमन बढेको छ।

 

प्रतिक्रिया