

पहिरोले खाँदबारी–किमाथाङ्का सडकखण्ड अवरुद्ध

संखुवासभा – लगातारको वर्षासँगै आएको पहिरोले संखुवासभाको भोटखोला गाउँपालिका र मकालु गाउँपालिका जाने उत्तर-दक्षिण सडकखण्डको खाँदबारी–किमाथाङ्का सडक अवरुद्ध भएको छ ।
मकालु गाउँपालिका– ३, नयाँ बस्तीमा पहिरो खस्दा उत्तर-दक्षिण सडकखण्ड अवरुद्ध भएको हो ।
उत्तर-दक्षिण सडक अवरुद्ध हुँदा मकालु वडा नं ३, ४ र भोटखोला गाउँपालिका जाने सडक ठप्प भएको उत्तर-दक्षिण सडक कार्यालयका प्रमुख इन्जिनियर दीपेश रजकले जानकारी दिए ।
सडकखण्ड अवरुद्ध भएपछि मकालु गाउँपालिका केही वडा र भोटखोला गाउँपालिकामा यातायात सेवा बन्द भएको छ । सडक अवरुद्ध भएपछि भोटखोला गाउँपालिकासँग सम्बन्ध टुटेको छ । पहिरोले दुई दिनदेखि मकालुका केही वडा र भोटखोला गाउँपालिका जाने सडक पूर्णरूपमा अवरुद्ध भएको सडक कार्यालयका इन्जिनियर रजकले बताए ।
पहिरोले मकालु–५ र ३ जोड्ने अरुण नदीको मोटररेबल पुलसमेत जोखिममा परेको छ । पहिरोले पुल आसपासको भूभाग कटान गरेपछि अरुण नदीको पुल जोखिमा परेको उनले बताए । लगातारको वर्षाले उत्तर-दक्षिण सडकखण्डका विभिन्न ठाउँमा पहिरो खसेको सडक कार्यालयका प्रमुख रजकले बताए ।
त्यस क्षेत्रमा अहिले पनि लगातार वर्षा भइरहेको छ । वर्षा नरोकिएसम्म पहिरो हटाउन सकिने अवस्था नभएको सडक कार्यालयका प्रमुख रजकको भनाइ छ । अहिले सदरमुकाम खाँदबारीबाट भोटखोला जाने यातायात मकालु गाउँपालिकाको फ्याक्सिन्दासम्म मात्रै चलेका छन् ।

