
भारतसँगको सम्बन्ध सुधारमा पाकिस्तानी चासो
काठमाडाैं – पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो जरदारीले विगतका नीतिका कारण पाकिस्तान विश्वमञ्चमा एक्लिएको बताउँदै भारतसँगको व्यापार र सम्बन्ध सुधारमा जोड दिएका छन् ।
इस्लामावादको रणनीतिक अध्ययन संस्थानमा बिहीबार भएको कार्यक्रममा उनले युद्ध र द्वन्द्वको लामो इतिहासबाट गुज्रिएका दुवै देशले संवाद र आर्थिक कूटनीतिमा आफ्नो ध्यान केन्द्रित गर्ने समय भएको बताउँदै भारतसँग सम्बन्ध सुधार गर्न आफूले चाहेको स्पष्ट गरे ।
भारत सरकारले अधिनस्थ काश्मिरमा गरेका कारबाही र मुसलमान विरोधी गतिविधिका बाबजुद पाकिस्तानको हितका खातिर एक्लिएर बस्नु उपयुक्त नहुने विचार व्यक्त गर्दै विदेशमन्त्री जरदारीले पाकिस्तान-तहरीक-ए-इन्साफ (पिटिआई) नेतृत्वको अघिल्लो सरकारले अन्तर्राष्ट्रिय रूपमा पृथक एवम् सम्बन्ध विच्छेदको स्थितिमा रहेर अघि बढ्ने विगतकै ढाँचालाई निरन्तरता दिएको टिप्पणी गरे ।
दुवै देश एकअर्काविरुद्धका गतिविधिमा संलग्न हुँदा विकासका लक्ष्य र उद्देश्य हासिल नहुने आशय उनले व्यक्त गरे । पाकिस्तानले विगतमा भारतसँग आर्थिक गतिविधि बढाएर दिल्लीको नीतिमा प्रभाव पार्न सकिन्थ्यो भन्दै विदेशमन्त्री जर्दारीले त्यसो हुन नसक्दा दुवै देश एकअर्काका चरम विरोधी बनेका निष्कर्ष सुनाए । उनले जम्मुकाश्मिरको विशेष दर्जा भारतले खारेज गरेकामा त्यसको आलोचना पनि गरे ।
भारतले सन् २०१९ मा जम्मु, काश्मिर र लद्दाख विभाजन गरेपछि पाकस्तान र भारतबीचको सम्बन्ध नराम्ररी बिग्रिएको छ । त्यसयता कूटनीतिक गतिविधि ठप्पप्राय छन् भने द्विपक्षीय व्यापार पनि अवरुद्ध भएको छ । दुवै देशबीचको संवादहिनता अन्त्य भएको छैन ।
प्रधानमन्त्री सेहबाज सरिफले सरकारको नेतृत्व सम्हालेपछि गत अप्रिलको प्रारम्भमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेखेर नयाँदिल्लीसँग शान्तिपूर्ण सम्बन्ध कायम गर्न र सबै समस्याको समाधान खोज्ने इच्छा व्यक्त गरेका थिए ।



कागजपत्र |
