नेपालमा लायन्स क्लबको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति भण्डारी


काठमाडाैं – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा लायन्स क्लबले स्वास्थ्य, शिक्षा र प्राकृतिक विपद्को क्षेत्रमा गरेको योगदान महत्त्वपूर्ण रहेको बताएकी छिन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा लायन्स क्लब अफ इन्टरनेशनलले आज आइतवार आयोजना गरेको अभिनन्दन तथा सम्मान कार्यक्रममा उनले क्लबले नेपालको अस्पताल, विद्यालय र बाल गृह सञ्चालनमा पुर्‍याएको योगदानको चर्चा गरिन् ।

‘नेपालमा लायन्स क्लबले अस्पताल, विद्यालय, बाल गृहलगायत सञ्चालन गरिरहेको छ’, राष्ट्रपति भण्डारीले भनिन्, ‘यस्ता परियोजना सञ्चालन गर्दा न्यून प्रशासनिक खर्च लाग्ने गरेको सुन्दा खुसी लाग्यो ।’

कृषिमा व्यवसायीकरण र आधुनिकीकरण गर्न सरकारले ध्यान दिइरहेको र देशलाई रोजगार तथा आत्मनिर्भर बनाउन सामाजिक संस्थाको ठूलो भूमिका भएको उनले उल्लेख गरे । राष्ट्रपति भण्डारीले भूकम्प, बाढीपहिरोजस्ता समस्याले वर्षाको समयमा ठूलो जनधनको क्षति पुर्‍याउने गरेको भन्दै सरकारका साथसाथै सामाजिक संस्थाले पनि प्रकोप न्यूनीकरणमा सहयोग गर्नुपर्ने बताए । कार्यक्रममा क्लबले राष्ट्रपति भण्डारीलाई अभिनन्दन गरेको थियो ।

कार्यक्रममा लायन्स क्लबले नेपालमा गरेको कामको विषयमा वृत्तचित्र समेत प्रस्तुत गरेको थियो । वृत्तचित्रमा आँखा अस्पताल निर्माण, भूकम्पपछि १८ सामुदायिक विद्यालय निर्माण गरेर समुदायमा हस्तान्तरण तथा त्रिभुवन विश्वविद्यालयसँग सहकार्य गरी बल्ड बैंक स्थापना गर्ने तयारी भइरहेको जस्ता विषय समेटिएका थिए । कार्यक्रममा क्लबका संस्थापक मूलचन्द राठी र किसनलाल दुगडलाई सम्मान गरिएको थियो ।

यस्तै प्रजातन्त्र ल्याउन एक सय तोला सुन दिएर सहयोग गरेकी इन्दुदेवी नौखलाई पनि कार्यक्रममा राष्ट्रपति भण्डारीले सम्मान गरेकी थिइन् । कार्यक्रममा समाजसेवीत्रय नन्दकिशोर राठी, मुकुन्दराज पाण्डे र शेषनारायण श्रेष्ठलाई राष्ट्रपति भण्डारीले सम्मान गगरेकी थिइन्। क्लबका अध्यक्ष रेवतबहादुर कार्कीले नेपालमा शिक्षा, स्वास्थ्य र प्राकृतिक प्रकोपको क्षेत्रमा सक्दो सेवा गर्ने प्रयास गरिरहेको र आउँदा दिनमा पनि प्रयास जारी रहने बताए ।

नेपालमा पहिलो पटक सन् १९७१ मा लायन्स क्लब अफ विराटनगरका नाममा पूर्वप्रधानमन्त्री स्व. मात्रिकाप्रसाद कोइरालाको नेतृत्वमा स्थापना भएको थियो । अहिले नेपालमा झन्डै दुई हजार क्लब स्थापना भइसकेका छन् । लायन्स क्लबको मुख्य उद्देश्य समाज सेवा गर्ने हो । क्लबले खासगरी शिक्षा, स्वास्थ्य र प्राकृतिक विपद्को समयमा सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया