सात घन्टादेखि एक व्यक्ति प्रसारण लाइनको तारमा चढेपछि…


काठमाडौं – नुवाकोटको ककनी गाउँपालिका–७ स्थित त्रिशुली मातातीर्थ प्रसारण लाइनमा एक व्यक्ति चढेपछि माथिल्लो त्रिशुली थ्री ‘ए’ र केही साना जलविद्युत आयोजनाको उत्पादन बन्द गरिएको छ।

प्रसारण लाइनमा बेल्कोटगढी नगरपालिका–१३ घलेगाउँका माइला विक नाम गरेका व्यक्ति चढेपछि अप्रिय घटना नहोस् भनेर विद्युत् प्राधिकरणले आयोजना नै बन्द गरेर विद्युत प्रवाह बन्द गरेको प्रहरीले जानकारी दिएको छ।

विक प्रसारण लाइनको खम्बाबाट चढेर तारसम्मै पुगेका छन्। उनी आज (शनिबार) १० बजेतिरबाट तार समातेर बसिरहेको जनाइएको छ। प्रहरी र स्थानीयले तल ओर्लन आग्रह गरिरहे पनि उनले मानेका छैनन्। उनी विद्युतीय तारमा हिँडिरहेका छन्।

उनलाई सम्झाइबुझाइ गरेर एक पटक तल झरे पनि फेरि त्यही नै रोकिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ। प्रहरीका अनुसार कुनै न कुनै तरिका अपनाएर तल झार्ने प्रयास भइरहेको छ।

प्रहरीले विक मानसिक सन्तुलन गुमेको व्यक्ति रहेकाे जनाएकाे छ। उनी बिहान परिवारलाई खुकुरी देखाएर झगडा गरेर हिँडेको एक स्थानीयले बताए।

प्रतिक्रिया