रुसको नियन्त्रणमा परेका दुई ब्रिटिश र मोरक्कोका एक नागरिकलाई मृत्युदण्डको सजाय घोषणा


रुस – स्वघोषित डोनेट्स्क गणराज्यूको रुसपक्षधर विद्रोहीहरूको नेतृत्वमा रहेको अदातलले ब्रिटेनका दुई र मोरक्कोका एकजना नागरिकलाई मृत्युदण्डको सजाय सुनाएको रुसी सरकारी समाचार संस्था आरआइएएनले जनाएको छ।

युक्रेनी फौजको पक्षबाट लडिरहेका बेला उनीहरू कब्जामा परेका थिए। अन्तर्राष्ट्रिय मान्यता नपाएको उक्त स्वघोषित अदालतका अध्यक्षले उनीहरूले महिनादिनभित्र सजायबारे पुनरावेदन गर्न सक्ने बताएका छन्।

यूके सरकारले आफ्ना नागरिकहरूलाई दिइएको मृत्युदण्डप्रति गहिरो चासो व्यक्त गरेको डाउनिङ्ग स्ट्रीटले जनाएको छ। ‘हामीले युद्धबन्दीलाई राजनीतिक उद्देश्यका लागि दुरूपयोग गरिनुहुन्न भनेर बारम्बार भनिरहेका छौँ,’ प्रधानमन्त्री बोरिस जोनसनकी एकजना प्रवक्ताले बताएका छन्।

ती प्रवक्ताले जिनिभा महासन्धि अन्तर्गत युद्ध बन्दीहरूलाई युद्धमा सहभागी भएको कारण अभियोजन चलाउन नमिल्ने जनाएका छन्। ब्रिटिश विदेशमन्त्री लीज ट्रसले उक्त फैसलालाई ‘कुनै वैधता नभएको बनावटी निर्णयू बताएकी छन्। रुसले उक्त पृथकतावादी क्षेत्र र ‘लुहान्स्क गणराज्यूलाई फ्रेबुअरीमा युक्रेनमा हमला सुरु गर्नुअघि मान्यता दिएको थियो।

पूर्वी युक्रेनी शहर सेभेरोडोनेट्स्कमा लडाइँ मत्थर हुने कुनै छनक नदेखिँदा त्यहाँका सडकमा गोली हानाहान र भीषण बमबारी चलिरहेका विवरण प्राप्त भएका छन्। राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशको पूर्वी डोनबास क्षेत्रको भविष्य लडाइँकाबीच टुङ्गो लाग्न सक्ने बताएका छन्।

सेभेरोडोनेट्स्कका सैन्य प्रमुखले लडाइँ कठिन भए पनि आफूहरू लडिरहेको बताए। उनले युक्रेनी फौजले अझै त्यहाँको औद्योगिक क्षेत्र र आसपासका क्षेत्रमा नियन्त्रण कायम राखेको जनाएका छन्।

प्रतिक्रिया