

नेकपा एसका मन्त्री परिवर्तन नहुने, सपथको तयारी गरेकाहरु हिस्स !

काठमाडौं – नेकपा एकीकृत समाजवादी पार्टीबाट मन्त्रीपरिषद्का सदस्य परिवर्तन गर्ने आन्तरिक छलफल भए पनि निर्णय नभइसकेको जनाइएको छ । यसअघि पार्टीको छलफलपछि चार जना मन्त्री र एक राज्यमन्त्रीलाई फिर्ता बोलाई नयाँ मन्त्री सिफारिस भइसकेको जनाइए पनि प्रधानमन्त्री देउवासमक्ष भने कुनै सिफारिस नभएको जनाइएको हो ।
मौखिक छलफलका क्रममा प्रधानमन्त्री देउवाले बजेटको समयमा नयाँ मन्त्री नियुक्त गर्दा समस्या हुने भन्दै तत्कालका लागि मन्त्री परिवर्तन नगर्ने अडान राखेको जनाइएको छ ।
‘संसद्मा बजेटमाथिकै छलफल जारी छ। यस्तो अवस्थामा मन्त्री फेरियो भने उठेका प्रश्नको जवाफ कसले दिने भनेर प्रधानमन्त्रीज्यूले अहिलेलाई नयाँमन्त्रीको नाम रोकिदिनु भयो,’ स्रोतले भन्यो, ‘बजेट पारित नहुञ्जेलसम्म लागि याथावत् राख्ने भनिएको हो। पार्टीको निर्णय हो नस्वीकार्ने भन्ने त हुँदैन तर अहिले समय सही भएन भन्ने मात्रै हो। अरु कामकारबाही बजेट पास भएपछि भइहाल्छ।’
समाजवादीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको रुपमा जीवनराम शर्मा, सहरी विकास मन्त्रीको रुपमा मेटमणि चौधरी, स्वास्थ्य तथा जनसंख्यामा मन्त्री भवानी खापुङ, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको रुपमा शेरबहादुर कुँवर र हीरा केसीलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको रुपमा सिफारिस गरेको जनाइएको थियो।
सिफारिस गरिएका भनिएका नयाँ मन्त्रीहरुले सोमबार दिउँसो शपथग्रहण गर्ने कार्यक्रम सञ्चारमाध्यममा आएको थियो ।
यसअघि एकीकृत समाजवादीबाट प्रेम आले पर्यटनमन्त्री, किसन श्रेष्ठ श्रम तथा रामकुमारी झाँक्री सहरी विकासमन्त्री रहेकी थिइन् भने विरोध खतिवडा स्वास्थ्य मन्त्री थिए ।

