

अमेरिकामा नेपाली क्रिकेट टिमका दुवै ओपनर घाइते, खकुरेललाई बोलाइयो

काठमाडाैं – विश्वकप क्रिकेट लिग टुअन्तर्गत त्रिदेशीय ओडीआई सिरिज खेल्न अमेरिका पुगेको नेपाली क्रिकेट टिमलाई झट्का लागेको छ । अमेरिकामा सिरिज सुरु हुनुअघि भएका दुई अभ्यास खेलमा नेपालका प्रमुख खेलाडी घाइते हुँदा नेपाली टिम कमजोर बनेको छ । सिरिजमा नेपाल, अमेरिका र ओमान छन् ।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपाली ओपनर ब्याटर कुशल भुर्तेल र विकेटकिपर तथा ओपनर आसिफ शेख घाइते भएका छन् । यी दुवै ब्याटर नेपालका पहिलो रोजाइका ओपनर हुन् । दुवै ओपनर घाइते भएको र उनीहरूले पहिलो खेल खेल्नेबारे अन्योल रहेको क्यानले जनाएको छ ।
नेपाल र अमेरिकाबीच पहिलो खेल ९ जुनमा हुँदैछ । दुई मुख्य ब्याटर घाइते भएपछि क्यानले सुवास खकुरेललाई टिममा बोलाएको छ । उनलाई अमेरिका भ्रमण टोलीमा समावेश गरिएको क्यानले जनाएको छ ।

