सिसडोललाई एक साताभित्र दुर्गन्धमुक्त बनाउँछौं : मेयर शाह


काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर विसर्जन गर्ने ठाउँ नुवाकोटको सिसडोललाई एक हप्ताभित्र दुर्गन्धमुक्त बनाउने बताएका छन् ।

उपमेयर सुनिता डंगोलसहित शुक्रबार बिहान काठमाडौंको फोहोर विसर्जन गर्ने सिसडोलको अनुगमन गर्ने क्रममा स्थानीयको गुनासो सुनेपछि मेयर शाहले केमिकल प्रयोग गरेर एक हप्ताभित्र त्यहाँ दुर्गन्ध आउने अवस्थाको अन्त्य गर्ने बताएका हुन् ।

यसका लागि आफूले विज्ञहरुसँग आवश्यक छलफल गरेको पनि मेयर शाहले बताए । उनले तीन महिनाभित्र मल र ग्यास दुवै निकाल्न सुरु गरेर त्यहाँको फोहोर व्यवस्थापन गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

यस क्रममा उनले तत्कालका लागि भने काठमाडौंमा थुप्रिएको फोहोर व्यवस्थापनमा अवरोध नगर्न पनि स्थानीयसँग आग्रह गरेका छन् । स्थानीयका सबै समस्या समाधान गरिने तर फोहोर विसर्जन गर्न भने स्थानीयले अवरोध गर्न नहुने उनको शर्त थियो ।

मेयर शाहले आफ्नो पहिलो प्राथमिकता काठमाडौंको फोहोरबाट सिर्जित समस्या समाधान गर्नु रहेको पटकपटक दोहोर्‍याएका छन् । सिसडोलका स्थानीयले भने आफूहरुको माग सम्बोधन नगरेसम्म काठमाडौंको फोहोर विसर्जन गर्न दिन नसकिने अडान राखेका थिए ।

प्रतिक्रिया