
एमाले उम्मेदवार स्थापितले दिए बालेन र सुनितालाई बधाई
काठमाडौं — निर्वाचन आयोगले काठमाडौं महानगरको मतगणना सम्पन्न गरिसकेपछि बालेन शाहलाई विजेता घोषित गरेसँगै एमालेका तर्फबाट उम्मेदवार बनेका केशव स्थापितले बधाई दिएका छन् ।
स्थापितले मेयरमा निर्वाचित भएका बालेन शाह र उपमेयर सुनिता डंगोललाई बधाई दिएका हुन । जनताको सेवक भएर काम गर्ने आफ्नो आकांक्षा भए पनि निर्वाचनको परिणामले त्यो सफलता प्राप्त हुन नसकेको उनले बताए।
आफूले पराजय भोगे पनि काठमाडौंको विकास र समृद्धिप्रति आफ्नो आकांक्षा नधरमराएको बताएका छन् ।
‘जनताको सेवक भएर काम गर्ने मेरो आकाङ्क्षाले यो पटकको निर्वाचन परिणामसँगै सफलता प्राप्त गर्न सकेन। यद्यपि यहाँको विकास र यहाँको समृद्धिप्रतिको मेरो आकाङ्क्षा अलिकति पनि धरमराएको छैन,’ उनले भने, ‘निर्वाचनमा पराजय भोग्दै गर्दा काठमाडौँ महानगरपालिकामा मेयर पदमा निर्वाचित बालेन साहलाई म शुभकामना भन्न चाहन्छु। काठमाडौँ महानगरवासीले तपाईँमाथि भरोसा गर्दै मतपेटिकामा खसालेका हरेक पत्रपत्रको तपाईँले सम्मान गर्नु हुनेछ भन्ने मैले अपेक्षा लिएका छु।’
उनले केही कमजोरी भए भने निरन्तर खबरदारी गरिरहने पनि उनले बताएका छन्। ‘तपाईंले गरेका हरेक कमजोरीमा भने म निरन्तर खवरदारी अवश्य गरिरहने छु,’ उनले भने।
साथै उनले एमालेबाट उम्मेदवार भई उपमेयर निर्वाचित सुनिता डंगोललाई पनि बधाई दिएका छन्।
‘लोकप्रिय मतसहित उपमेयर पदमा विजयी हुनुहुने सुनिता डंगोललाई पनि म शुभकामना व्यक्त गर्न चाहन्छु। तपाईं आशा बोकेको युवा हो, तपाईंले आफ्नो कार्यकालमा सबै महानगरवासीको सेवक भएर काम गर्नुहुने छ भन्ने विश्वाससहित शुभकामना व्यक्त गर्न चाहन्छु,’ उनले भनेका छन्।
उनले मतदातालाई पनि धन्यवाद दिएका छन्।



कागजपत्र |
