६ महानगरका उपमेयर !

अविवाहित सुनितादेखी दोहोरिएकी मञ्जुसमेत एमालेका ४ महिलाले बाजी मार्दा २ मा कांग्रेसका पुरुष उम्मेदवार विजयी


काठमाडौं – देशभरका ७५३ स्थानीय तहमध्ये ६ वटा महानगर । ६ महानगरमा नेतृत्व गर्नेको टुंगो लागिसकेको छ, भलै संघीय राजधानी रहेको काठमाडौं महानगरमा भने विजेताको टुंगो लागिसकेपनि मतगणना भने सकिएको छैन ।

स्थानीय तहको संरचनाअनुसार एउटा स्थानीय तहमा प्रमुख, उपप्रमुख, वडाध्यक्ष अनि सदस्यहरु रहन्छन् । देशभर रहेका ६ वटा महानगरमध्ये ५ वटा महानगरको विजयी उम्मेदवारहरुको औपचारिक घोषणा भइसकेको छ भने एउटा महानगरको आधिकारिकता अनि गणितीय घोषणा मात्र गर्न बाँकी रहेको छ ।

काठमाडौं महानगरबाहेक विराटनगर, ललितपुर, पोखरा, भरतपुर र वीरगञ्जका सबै पदका लागि उम्मेदवारहरुको मतगणना सम्पन्न भइसकेकोछ । ती महानगरको प्रमुखमा विभिन्न दलहरुले बाजी मारेका छन् । विराटनगर र ललितपुरमा कांग्रेसले बाजी मार्दा, वीरगञ्जमा जनतासमाजवादी पार्टी, भरतपुरमा माओवादी, पोखरामा एकीकृत समाजवादीले विजय हासिल गरिसकेका छन् । त्यस्तै काठमाडौंमा स्वतन्त्रका उम्मेदवार बालेन्द्र शाह विजय हुने निश्चित भइसकेपनि केही मत गन्न बाँकी रहेको अवस्था छ । यी ६ वटै महानगरमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने एउटामा पनि महानगर मेयर हात पार्न सकेन ।

महानगर मेयरमा पाएको असफलताको बाबजुद नेकपा एमालेले उपप्रमुखमा भने ज्यादै ठूलो र सम्मानजक जित हात पारेको छ । एमालेले ६ मध्ये चावटा महानगर उपप्रमुखमा जित हात पार्ने निश्चित भएको छ । तीमध्ये  तीन वटा महानगरमा विजेताको घोषणा भएर पदबहालीको क्रममा छन् भने काठमाडौंमा केही मतमात्र गणना गर्न बाँकी रहेको छ, यद्यपि काठमाडौंमा नेकपा एमालेकी उम्मेदवारले जित हात पार्ने निश्चित भइसकेको छ । एमालेबाट उपमेयरमा जित हात पार्नेमा चारै जना महिला उम्मेदवार रहेका छन् ।

त्यसबाहेकका २ महानगरमा नेपाली कांग्रेसले जित हात पारिसकेका छन् । नेपाली कांग्रेसका उम्मेदवारले भरतपुर र वीरगञ्जमा जित हात पारेका छन् । यी बाहेक पोखरामा कांग्रेसले पाएको उपमेयर पदमा नेपाली कांग्रेसकी उपमेयरले पराजय भोगेकी थिइन् । भने अन्य महानगरमा गठबन्धनका तर्फबाट कांग्रेसबाहेकका उम्मेदवार रहेका थिए ।

शिल्पा कार्की, विराटनगर (एमाले)

मतपरिणामअनुसार विराटनगर महानगर प्रमुखमा नेपाली कांग्रेसले जित हात पार्दा उपप्रमुखमा नेकपा एमालेकी शिल्पा कार्की विजयी भएकी छिन् । कार्कीले गठबन्धनका तर्फबाट उम्मेदवार भएका उपेन्द्र यादवका पुत्र अमरेन्द्र यादवलाई ठूलो मतान्तरले पराजित गरेकी छिन् । कार्कीले २५ हजार ६८० मत ल्याएकी थिइन् भने यादवले १४ हजार २१९ मत ल्याएका थिए । कार्कीले नेकपा एमालेबाट मेयरपदका उम्मेदवार सागर थापाले भन्दा ४ हजार बढी मत ल्याएकी थिइन् ।

मञ्जली शाक्य बज्राचार्य, ललितपुर (एमाले)

त्यस्तै ललितपुर मेयरमा नेपाली कांग्रेसका चिरीबाबु महर्जनले ठूलो मतान्तरले जित हात पार्दै गर्दा उपमेयरमा भने ललितपुरकी मञ्जली शाक्य बज्राचार्यले गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई पराजित गर्दै उपमेयरमा निर्वाचित भइन् । २५ हजार ८४ मत ल्याएकी मञ्जलीले प्रतिस्पर्धी माओवादीका बाबुराज बज्राचार्यलाई ७ हजार बढी मतअन्तरले पराजित गरेकी हुन् ।

मञ्जुदेवी गुरुङ, पोखरा (एमाले)

गण्डकी प्रदेशको एकमात्र महानगर पोखराको नेतृत्वका लागि निवर्तमान उपमेयर समेत रहेकी मञ्जुदेवी गुरुङले गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै दोस्रोपटक उपमेयरमा निर्वाचित भएकी छिन् । अहिलेसम्मका निर्वाचनमा नेकपा एमालेको किल्ला रहेको पोखरा महानगरमा मञ्जुको जितसँगै अझै किल्ला नै रहेको पुष्टी भएको छ । मञ्जुले गठबन्धनकातर्फबाट उम्मेदवारी दिएकी नेपाली कांग्रेसकी कोपिला रानाभाटलाई करिब ४ हजार मतअन्तरले पराजित गर्दै दोस्रोपटक उपमेयरमा निर्वाचित भएकी हुन् । महानगरप्रमुखमा नेकपा एकीकृत समाजवादीका उम्मेदवारले ठूलो मतान्तरले जित्दै गर्दा मञ्जुको जितले नेकपा एमालेको साख भने गिर्न दिएको छैन । पोखरामा मञ्जुले ६० हजार ५४६ मत प्राप्त गर्दै जित हात पारेकी थिइन् भने उनकी प्रतिस्पर्धी रानाभाटले ५६ हजार ६६३ मत ल्याएकी थिइन् ।

सुनिता डंगोल, काठमाडौं (एमाले)

देशको केन्द्रीय राजधानी काठमाडौं महानगरको मेयरमा यसपटक अविवाहित २९ वर्षे युवतीले बाजी मारेकी छिन् । सामाजिक अभियन्ताका रुपमा अगाडि बढीरहेकी सुनिता डंगोललाई नेकपा एमालेले उम्मेदवारी दरखास्त दिने दिनको केही दिनअघि मात्र पार्टीमा भित्र्याएर उपमेयरको टिकट दिएको थियो । स्वतन्त्र रुपमा मेयरको उम्मेदवारी दिने तयारीमै रहेका बेला डंगोललाई नेकपा एमाले जस्तो बलियो पार्टीले टिकट दिने भएकोले र जुन पदमा रहे पनि जनताको सेवाको लागि प्रतिबद्ध व्यक्ति भएको जनाउँदै स्वीकार्दै नेकपा एमालेबाट उम्मेदवारी दिइन् । प्रष्टवक्ता, मृदुभाषी र माधुर्यताका कारण काठमाडौंका मतदातामाझ लोकप्रिय डंगोलले यसपटकको स्थानीय तह निर्वाचनमै सबैभन्दा मतान्तरले जित्ने कीर्तिमानको नजिक समेत रहेकी छिन् ।

केही हजारमात्र मत गणना गर्न बाँकी रहेको अवस्थामा डंगोलले ५८ हजार ३३२ मत ल्याएकी छिन् भने उनका निकटम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले १८ हजार ९ सय ५२ मत मात्र ल्याएका छन् । यसरी हेर्दा सुनिताले करिब ४० हजार बढी मतान्तरले विजयी हुने निश्चित देखिएको छ ।

सुनिताको जितसँगै काठमाडौं महानगर नेतृत्वमा दुवै युवा उम्मेदवारले जित हात पारेका छन् । एउटाले स्वतन्त्ररुपमा प्रतिनिधित्व गरेका छन् भने अर्कीले निर्वाचनको करिब एक महिना मात्रै राजनीतिक दलको ‘क्याडेट’को अनुभव लिएकी छिन् । सो भन्दा अगाडि दुवै जना स्वतन्त्र रुपमा आफ्ना अभियानमा लागिरहेका व्यक्तित्व हुन् । स्वतन्त्र मेयर बालेन शाह र सुनिता डंगोलको ‘कम्बिनेशन’मा केन्द्रीय राजधानी काठमाडौंले मुहार फेर्ने अपेक्षा यहाँका मात्र नभई देशविदेशमा रहेका नेपालीहरुले लिएका छन् ।

चित्रसेन अधिकारी, भरतपुर (नेपाली कांग्रेस)

चितवनको भरतपुर महानगरपालिका यसपटकको स्थानीय तह निर्वाचनमा सबैभन्दा चर्चाको शिखरमा रह्यो, कारण मेयरमा रेणु दाहालको उम्मेदवारी । सत्ता गठबन्धनबाट माओवादीका लागि दिने निर्णय गरिएको भरतपुरमा नेपाली कांग्रेसका कार्यकर्ताले ठूलो विरोध गरे । रेणुकै विरुद्ध स्वतन्त्ररुपमा नेपाली कांग्रेसका जगन्नाथ पौडेलले उम्मेदवारी दिए । सोही स्थानमा उपमेयरमा भने नेपाली कांग्रेसको भागमा पर्यो । भरतपुर उपमेयरका लागि भरतपुर नगरकार्यसमितिका सभापति चित्रसेन दाहालले उम्मेदवारी दिँदै गर्दा कांग्रेस कार्यकर्ताले मेयरको माग गरिरहेका थिए । तर, पार्टी केन्द्रको निर्णय र गठबन्धनका कारण मेयरमा माओवादी केन्द्रलाई समर्थन गर्दैगर्दा अधिकारीले उपमेयर पाए । वैशाख ३० को मतगणनापछि भएको मतगणनामा अधिकारीले निकटतम प्रतिस्पर्धीलाई ठूलो मतान्तरले पराजित गर्दै भरतपुर महानगरमा जित हात पारे । यसअघि पनि नेपाली कांग्रेसले पाएको उपमेयर पदलाई अधिकारीले रेणु दाहालकै नेतृत्वमा निरन्तरता दिन सफल भए । अधिकारीले ५२ हजार ८ सय ३ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी राप्रपाकी हिमला गुरुङले ३०६११ मत ल्याएकी थिइन् । अधिकारीले गुरुङलाई २२ हजार भन्दा बढी मतान्तरले पराजित गरे ।

इम्तियाज आलम, वीरगञ्ज (नेपाली कांग्रेस)

उता वीरगञ्ज महानगरपालिकामा पनि गठबन्धनका उम्मेदवारले मेयरमा बाजी मार्दा उपमेयरमा भने नेपाली कांग्रेसका उम्मेदवार विजयी भए । सत्ता गठबन्धनको एक घटक जसपाबाट वीरगञ्ज मेयरका लागि उम्मेदवारी दिएका राजेशमान सिंहले निवर्तमान नगरप्रमुख विजयकुमार सरावगीलाई ठूलो मतान्तरले पराजित गर्दैगर्दा नेपाली कांग्रेसका इम्तियाज आलमले पनि जित हात पारे । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका पुरुषोत्तम लाल झालाई करिब २१ हजार बढी मतान्तरले पराजित गरेका आलमले ३० हजार ७८ मत ल्याएका थिए भने लोसपाका झाले ९ हजार ५ सय ६८ मत मात्र ल्याएका थिए ।

यसरी हेर्दा समग्रमा नेपालका ६ महानगरमध्ये ४ महानगरमा नेकपा एमालेका उम्मेदवारले उपमेयरमा जित हात पारेका छन् भने २ वटामा नेपाली कांग्रेसका उम्मेदवारले जित हात पारेका छन् । अर्को संयोग के पनि जुटेको छ भने एमालेका चारैजना महिला छन् भने नेपाली कांग्रेसबाट जित हात पारेका दुवैजना पुरुष रहेका छन् ।

प्रतिक्रिया