डोल्पाको त्रिपुराकोटमा पुग्यो गाडी


सुर्खेत – ट्र्याक खुलेको पाँच वर्षपछि जाजरकोटबाट डोल्पाको त्रिपुराकोटसम्म सिधा यातायात सेवा सञ्चालनमा आएको छ। भेरी नदीको बिच बिचमा बेलिब्रिज निर्माण भएपछि सिधा यातायात सञ्चालन हुन थालेको हो।

करपगाड र खदाङमा बेलिब्रिज बनेपछि यो सम्भव भएको हो। दुई ठाउँमा बेलिब्रिज बनेपछि मालबाहक तथा सवारी साधन त्रिपुराकोटसम्म पुगेका हुन्। डोल्पाको त्रिपुरासुन्दरी नगरपालिको त्रिपुराकोटमा गाडी पुगेपछि स्थानीय हर्षित छन्।

त्रिपुराकोटकी मनमाया न्यौपानेले सडक पहिल्यै बने पनि गाडी ढिलो पुगेको बताइन्। व्यवसायी रामबहादुर विकले बाह्रै महिना गाडी चल्ने बनाउनुपर्ने बताए । अहिले पनि थप पुल बनाउनुपर्ने अवस्था रहेका कारण यो काम तत्काल पूरा गर्नुपर्ने उनको भनाइ छ।

यो पटक जाजरकोट र रुकुम पश्चिम जोड्न ठूलीभेरी नदीमा सानो बेलिब्रिज बनाइएको छ। यही बेलिब्रिजका कारण सवारी तथा मालबाहक साधन सोझै त्रिपुराकोटसम्म पुग्ने गरेका छन् । यो नियमित हुन भने केही समय लाग्नेछ । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा पनि वर्षामा बढ्ने खोलाका कारण सवारी रोकिन सक्छन्।

हिउँदमा सुक्ने यी खोलाले वर्षामा सवारीका साधन रोकिन्छन्। उपमखोला र रिजिगाडमा पुल बनाउनुपर्ने छ। डोल्पाको खदाङपछि आउने चुंगाड र छलगाडमा पनि पुल निर्माण भएपछि सवारीका साधन वर्षामा पनि चल्न सक्छन्। जाजरकोट–डोल्पा जोड्न तल्लुबगरको पुल निर्माण हुन अनिवार्य छ। पुल निर्माण कार्य थालिएको छ। हाल सानो बेलिब्रिजबाट सवारी साधन वारपार गरिरहेका छन्।

त्रिपुराकोटमा पनि बेलिब्रिज निर्माण भइरहेको छ। त्रिपुराकोटबाट सुपपानी हुँदै दुनै पुग्दा रूपगाडमा पनि अर्को पुल बनाउनुपर्ने छ। यहाँ पनि बेलिब्रिज निर्माणको काम भइरहेको छ। यो पुल निर्माणपश्चात् डोल्पा सदरमुकाम पुग्न सजिलो हुनेछ।

बीचबीचमा पुल बन्ने र बनाउने कार्य भइरहे पनि मुख्य ठाउँको पुल निर्माणमा ध्यान दिनुपर्ने सर्वसाधारणको जोड छ। यो खण्डमा इकोइन्फ्रा कम्पनीले पाँच वटा पुल निर्माणको जिम्मा लिएको छ। यसमध्ये तीनवटा बेलिब्रिज बन्ने क्रममा छन्। २ वटा सञ्चालनमा आइसकेका छन । यो आर्थिक वर्ष भित्र पुल निर्माण हुने सडक डिभिजन चौरजहारीले जनाएको छ।

प्रतिक्रिया