पाटन औद्योगिक क्षेत्रमा बिस्फोट भएको अक्सिजन सिलिण्डर १० वर्ष पुरानो : प्रतिवेदन


काठमाडौं – गत ८ वैशाखमा ललितपुरस्थि पाटन औद्यागिक क्षेत्रमा अक्सिजन सिलिण्डर विस्फोट भई २ जनाको मृत्यु भएको घटनाको छानविन प्रतिवेदन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडू समक्ष पेश गरिएको छ ।

घटनापछि मन्त्रालयले गठन गरेको समितिले अध्ययन गर्दै प्रतिवेदन मन्त्री बडूलाई बुझाएको हो । समितिले सोमवार मन्त्री बडूलाई बुझाएको प्रतिवेदन अनुसार विस्फोट भएको सिलिण्डर १० वर्ष पुरानो रहेको पाइएको छ ।

त्यस्तै तोकिएको वर्किङ प्रेसरभन्दा बढी प्रेसरको अक्सिजन ग्यास भरिएको, आवश्यक परीक्षण नगरी कम चाप बहन क्षमताको पुरानो र कमजोर सिलिण्डरमा बढी प्रेसर हुँदा घटना भएको प्रतिवेदनमा औंल्याइएको छ ।

त्यस्तै सो सम्बन्धमा कामदारमा न्यूनतम प्राविधिक योग्यता र तालिम नभएको, उद्योग व्यवस्थापकको असावधानी, यस्तो संवेदनशील उद्योगको नियमनको मापदण्ड नहुँदा नियामक निकायको नियमिति अनुगमन नहुनुजस्ता कारणले दूर्घटना भएको निष्कर्ष प्रतिवेदनले निकालेको छ ।

त्यस्तै समितिले आगामी दिनमा ग्यास उद्योगहरुमा यस्ता घटना दोहोरिन नदिन सबै ग्यास उद्योगले अनिवार्य रुपमा आफ्ना सिलिण्डरहरु मात्र रिफिलिङ गर्ने, सिलिण्डर जाँच गरी गुणस्तरहीन र पुराना सिलिण्डरहरु यथाशीघ्र डिस्पोज गर्ने लगायतका सुझाव दिएको छ ।

प्रतिक्रिया