

तुलसीपुर उपमहानगर-१७ मा ४ हजार ३३९ मत खस्यो, मतगणना शुरु

दाङ – तुलसीपुर उपमहानगरपालिका-१७ मा ४ हजार ३३९ मत खसेको छ। उक्त वडामा ६ हजार १७० मतदाता थिए । वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको निधनका कारण गत वैसाख ३० गते स्थगित भएको तुलसीपुर-१७ मा मंगलबार शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ।
मतदान स्थलमा ज्येष्ठ नागरिक, शारीरिक रुपमा अशक्त, बिरामी तथा सुत्केरीहरूलाई बिना लाइन मतदानको व्यवस्था गरिएको थियो। वडामा दुई वटा बुथकाे व्यवस्था गरी मतदान गरिएकाे हाे । मतदानस्थलमा वडाध्यक्षका उम्मेदवार मात्र नभएर सबै राजनीतिक दलका मेयर तथा उपमेयरका उम्मेदवारहरू तथा जिल्लाका अन्य वडाका राजनीतिकर्मीको समेत बाक्लो उपस्थिति रह्याे ।
मतदान प्रक्रियामा वडाध्यक्षका प्रत्यासीहरूमा नेपाली कांग्रेसका थलराज पुरी, एमालेका प्रदिप चौधरी र स्वतन्त्रका डिल्लीराज शर्मा रहेका छन्। जनकल्याण माध्यमिक विद्यालय दुधरास बुथबाट १ हजार ९ सय २५ जनाले मतदान गरेका थिए भने दिपेन्द्र माध्यमिक विद्यालय मानपुर बुथबाट २ हजार ४ सय १४ जनाले मतदान गरेको त्यहाँका निर्वाचन अधिकृतहरूले जनाएका छन्।
तुलसीपुरको मतगणना शुरु
यसैबीच तुलसीपुर-१७ मा मतदान सकिएलगत्तै सबै मतपेटिका तुलसीपुरस्थित सरकारी वकिलको कार्यालयमा लगिएको छ। त्यहीँ मतगणना शुरु गर्ने अन्तिम तयारी भएको छ। मंगलबार रातिदेखि नै मतगणना स्थलका ५ स्थानमा मतगणना शुरु गर्ने तयारी निर्वाचन कार्यालयले गरेको छ।
मंगलबार बसेको सर्वदलीय बोर्ड बैठकले राति मतगणना शुरु गर्ने निर्णय गर्दै एजेन्टसमेत खटाइसकेको बताइएको छ। मतगणना स्थलमा सिसी क्यामेरासहित आवश्यक सुरक्षाकर्मी सहितको सुरक्षा व्यवस्थापन गरिएको निर्वाचन सुरक्षा समितिले जनाएको छ।

