सर्वोच्चका वरिष्ठतम् न्यायाधीश मीरा खड्काको अवकाश, कार्की बने वरिष्ठतम् न्यायाधीश


काठमाडौं – सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश मीरा खड्काको अवकाश भएको छ । ६५ वर्षे न्यायाधीश खड्का उमेरहदका कारण आइतबारबाट अवकाशमा गएकी हुन् । खड्काले अवकाश पाएलगत्तै अब सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की वरिष्ठतम् न्यायाधीश बनेका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाभियोगको प्रस्ताव दर्ता भएसँगै उनी निलम्बनमा परेका थिए । जबरा निलम्बनमा परेपछि वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्कीले कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका छन् । कार्कीले कामु प्रधानन्यायाधीशको जिम्मेवारी लिएपछि न्यायाधीश मीरा खड्का वरिष्ठतम् न्यायाधीश बनेकी थिइन् ।

२०३८ साल पुसमा शाखा अधिकृतबाट सर्वोच्च अदालतका प्रवेश गरेकी खड्का २०४८ कात्तिकमा काठमाडौं जिल्ला अदालतको न्यायाधीश बनेकी थिइन् । त्यसपछि १४ वर्ष जिल्ला न्यायाधीशमा बिताएपछि २०६२ जेठ ४ गते खड्का तत्कालीन पुनरावेदन अदालत पाटनको न्यायाधीशमा नियुक्त भएकी थिइन् । उच्च अदालत विराटनगरको इलाम इजलासमा मुख्य न्यायाधीश बनेपछि उनी २०७३ साउन १७ गते सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएकी थिइन् । सर्वोच्च अदालतमा न्यायाधीश बनेको करिब ६ वर्षपछि उनी उमेरहदका कारण सेवाबाट अवकाश पाएकी हुन् ।

प्रतिक्रिया