लखनऊलाई हराउँदै गुजरात प्लेअफमा


काठमाडौँ- नवप्रवेशी टिम गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको प्लेअफमा प्रवेश गरेको छ।मंगलबार राति लखनऊ सुपर जायन्ट्सलाई ६२ रनले पराजित गर्दै गुजरात प्लेअफ प्रवेश गर्ने पहिलो टोली बनेको हो।

महाराष्ट्र क्रिकेट एसोसिएसन स्टेडियममा टस जितेर ब्याटिङ रोजेको गुजरातले ४ विकेटको क्षतिमा १४४ रनको योगफल तयार पारेको थियो। जवाफी ब्याटिङ गरेको लखनऊ १३.५ ओभरमा सबै विकेट गुमाउँदै ८२ रनमा समेटियो।

लखनऊका लागि दिपक होडाले २७ रन बनाए। आवेश खानले १२ तथा क्विन्टन डी ककले ११ रन जोडे।गुजरातका राशिद खानले ४ विकेट लिए। यश दयाल र रभिश्रीनिवासन साई किशोरले २/२ विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको गुजरातको जितमा शुभमन गिलले नटआउट ६३ रनको योगदान गरे। डेभिड मिल्लरले २६ र राहुल टेवाटियाले अविजित २२ रन जोडे। लखनऊका आभेश खानले २ विकेट लिए।

जितसँगै प्लेअफमा प्रवेश गरेको गुजरात १२ खेलमा ९ जितसहित १८ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ। शीर्ष स्थानको लखनऊ १२ लेखमा ८ जितसहित १६ अंक जोडेर दोस्रो स्थानमा झरेको छ।

आईपीएलमा आज राजस्थान रोयल्स र दिल्ली क्यापिटल्स् भिड्दैछन्। डीवाई पाटिल स्पोर्टस् एकेडेमीमा साँझ ७:४५ मा खेल हुनेछ।

राजस्थानको प्लेअफमा पुग्ने सम्भावना बलियो रहेको बताइन्छ। तीन खेल बाँकी रहेकोमा सहजै प्लेअफ पुग्न राजस्थानले दुई खेल जित्नुपर्नेछ। एक खेलमात्र जिते रनरेटमा भर पर्नुपर्नेछ।

दिल्लीको पनि प्लेअफ सम्भावना छ। तर अब बाँकी रहेका तीनै खेलमा शतप्रतिशत नतिजा निकालेमा रनरेटका आधारमा प्लेअफमा पुग्ने सम्भावना बलियो हुनेछ।

प्रतिक्रिया