
धनुषा र रूकुमपश्चिममा राप्रपा उम्मेदवारमाथि आक्रमण
काठमाडौं – मधेश प्रदेशको धनुषा जिल्लाको सबेलामा वडा सदस्यका उम्मेदवारमाथि आक्रमण भएको छ । सबेला नगरपालिका वडा नं. ४ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट वडा सदस्यका लागि उम्मेदवारी दिएका समशुल राइन मियामाथि आक्रमण भएको छ ।
राप्रपाबाट उम्मेदवारी दिएका मियाँलाई एमालेका नेता तथा कार्यकर्ताहरुले उम्मेदवारी फिर्ता लिनका लागि दबाब दिँदै परिवारका सम्पूर्ण सदस्यमाथि आक्रमण गरेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जनाए ।
श्रेष्ठले एक विज्ञप्ति प्रकाशित गर्दै एमालेले आप्mना रुकुम पश्चिम मुसिकोट नगरपालिका वडा नं. १ का वडाध्यक्षका उम्मेदवार लिलिबिर बिसीलाई पनि आक्रमण गरेको बताएका छन् ।
विज्ञप्तिमा घटनामा संलग्नहरुमाथि कारबाहीको माग गर्दै घाइतेको उपचारको प्रवन्ध गर्न माग समेत गरिएको छ ।
प्रेस विज्ञप्ति
स्थानीय तहको निर्वाचनको प्रचारप्रसारमा रहेको बेला धनुषा जिल्लाको सबेला नगरपालिका वडा नं— ४ का राप्रपाका वडा सदस्यका उमेदवार समशुल राइन मिया माथि नेकपा एमालेद्वारा भएको सांघातिक हमलाको घोर निन्दा एवं भत्सर्ना गर्दछौं । राप्रपाको नीति, विचार, सिद्धान्तको प्रवर्द्धन र आफ्नो चुनावी प्रतिबद्धता घरदैलो गर्दै मतदाता सामु गइरहेको अवस्थामा मियामाथि एमालेले उमेदवारी फिर्ता लिन दबाब दिएको र मियाले पार्टीको पक्षमा दृढतापूर्वक प्रचार गर्ने अडान लिएपछि उनी र उनको ७ जना परिवारका सदस्यमाथि सांघातिक हमला भएको घटना घृणित, लज्जास्पद र दुस्खदायी छ । यस घटनामा संलग्नलाई पक्राउ गर्न, दोषीलाई कडा कारबाही गर्न र घाइतेको उपचारको प्रबन्ध गर्न राप्रपा जोडदार माग गर्दछ ।
यसैगरी रुकुम पश्चिम जिल्लाको मुसिकोट नगरपालिका वडा नं–१ मा राप्रपाका वडा अध्यक्ष पदका उमेदवार लिलिबिर बिसीको चुनाव प्रचारका क्रममा माओवादीले बाटो छेकेर धम्क्याउने, पार्टीको झण्डा च्यातरे फालिदिने र उमेदवारलाई लछारपछार गरिएको घटनाप्रति दुस्ख प्रकट गर्दै भत्सर्ना गर्दछौं ।
आफ्नो चुनावी प्रतिबद्धता सहित जनताको घरदैलोमा पुगिरहेका राप्रपाका उमेदवारलाई निरुत्साहित गर्ने, धम्की दिने र आक्रमण गर्ने घटनाले लोकतान्त्रिक अधिकारको उपहास भएको छ साथै यस्ता घटनाले निर्वाचन मार्फत उपयुक्त दल र उपयुक्त जनप्रतिनिधि छनौट गर्ने जनताको अधिकार समेत कुण्ठित भएको छ । भयरहित निर्वाचनको वातावरण बनाउन राप्रपा सरकार र निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराउँदछौं ।
मोहन श्रेष्ठ
प्रवक्ता एवं प्रचार विभाग प्रमुख
राष्ट्रिय प्रजातन्त्र पार्टी ।



कागजपत्र |
