निर्वाचनको दिन बिहानैदेखि पानी पर्ने पूर्वानुमान
काठमाडौँ– आसन्न स्थानीय तह निर्वाचनको दिन (वैशाख ३० गते) दिनभर वर्षा हुने पूर्वानुमान गरेको छ। स्थानीयवायु र भारतको पश्चिम बंगालमा बनेको न्यूनचापीय प्रणालीको असरले निर्वाचनको दिन ३० वैशाखमा वर्षा हुनसक्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाले वैशाख २८ गतेदेखि ३१ गतेसम्मको मौसम पूर्वानुमान विशेष बुलेटिन सार्वजनिक गरेको छ। सो बुलेटिनमा लेखिएअनुसार निर्वाचनको दिन वैशाख ३० गते देशभर आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ। प्रदेश १, बागमती तथा गण्डकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चटयांगसहित हल्कादेखि मध्यमवर्षाको सम्भावना छ। साथै मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जनरचटयांगसहित हल्का वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।
महाशाखाले सामान्यतया तीन दिनसम्मको मौसम पूर्वानुमानबारे बुलेटिन जारी गरी जानकारी गराउँदै आएकाेमा आइतबार (आज) भने ३१ गतेसम्मको मौसम पूर्वानुमान सार्वजनिक गरेको हो। उक्त बुलेटिनमा उल्लेख भएअनुसार वैशाख २८, २९ र ३० गते देशभर आंशिकदेखि सामान्य बदली हुने र प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चटयांगसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। साथै मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन र चटयांगसहित हल्का वर्षाको सम्भावना छ। २९ गते मधेश प्रदेशका जिल्लाहरूमा हावाहुरी चल्ने सम्भावना पनि छ। अहिले नेपालमा स्थानीयवायु र भारतको बिहार-पश्चिम बंगाल क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव छ। साथै दक्षिण बंगालमा चक्रवात पनि विकसित भएको छ।