झापामा करिव ३४ सय केजी राहतको खाद्यान्न गाड्नेहरु पुनः उम्मेदवार


दमक । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा पर्ने गौरादह नगरपालिकाको तीन वटा वडाको अध्यक्षमा रातहको खाद्यान्न कुहाएर गाड्नेहरु पुन वडाध्यक्षको उम्मेदवार बनेपछि मतदाताहरु खिन्न भएका छन् ।

एक वर्षअघि २०७७ को कोरोना महामारीमा सरकारले लकडाउन गर्दा दैनिक गुजारा चलाउन समस्या भएका नगरवासीको लागि राहतस्वरुप विभिन्न निकायबाट नगरपालिकाले प्राप्त गरेको करिव तीन हजार चार सय केजी खाद्यान्न वितरण नगरी गोदाममा थन्क्याएर कुहाउने काम भएको थियो । यस्तो कुकर्म र गौरजिम्मेवार भूमिका खेल्ने वडाध्यक्षहरु नै यतिवेला पुनः उम्मेदवार बनेका हुन् ।

नगरको मेयरमा नेपाली कांग्रेसका रोहित साहसहित तीन जना मात्र वडाध्यक्ष विजयी हुँदा नेकपा एमालेले उपमेयरसहित ६ वडाध्यक्ष जिताएर बहुमत ल्याएको थियो । नगर कार्यपालिकामा एमालेका ७ सदस्य रहेपछि कांग्रेसले मेयरसहित ३ वडाध्यक्ष मात्र जितेपछि अल्पमतमा परेको थियो । तर, नेकपा एमालेले राहतको चामल सडाउन भूमिका खेल्नेलाई कारबाही गर्नुको सट्टामा उल्टै पुनः उम्मेदवार बनाएर पुरस्कृत गरेको छ ।

अल्पमतमा परेका नगरका मेयरलाई सँधै दबाब र प्रभावमा राख्न चाहने नगरकार्यसमितिका सदस्यहरुले राहतको लागि प्राप्त भएको खाद्यान्न वितरण गर्न खोज्दा विभिन्न बहाना गर्ने र लामो समयसम्म गोदाममा थन्क्याउँदा गुणस्तर विग्रिएर अखाद्य भएपछि गत वर्ष जेठ ९ गते आइतबार नगरपालिकाको परिषरमा खाल्डो खनेर गाडिएको थियो ।

कोभिड १९ को महामारीमा परेका गरिव, असहाय, दैनिक ज्यालादारीमा काम गरी खाने, विहान बेलुका हातमुख जोड्न गाह्रो हुने समुदायहरुको लागि खाद्यान्न वितरण गरी वाँकी रहेको खाद्यान्न अखाद्य भएको भन्दै खाल्डो खनेर पुरिएको थियो ।

खाद्यान्नलाई हरेक मापदण्ड पुरा गरी सबै सुरक्षाका नीतिहरु अबलम्वन गर्दा गर्दै पनि मुसा, पानी र पुरानो भण्डारण कक्षका कारण खाद्यान्न अखाद्य भएको देखिएको भन्दै नष्ट गरिएको थियो । जनप्रतिनिधिहरु, सुरक्षा निकाय र सरकारी निकायको रोहबरमा गौरादह नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र भट्टराईको पहलमा तीन हजार एक सय २१ केजी चामल, दुई सय तीन केजी दाल, ५ केजी नुन र १५ बोरा भुजिया गतबर्ष नष्ट गरिएको थियो ।

यतिधेरै परिमाणको खाद्यान्न नष्ट गर्ने निर्णय गर्नेमध्येका नगरपालिकाका प्रवक्ता तथा १ नम्वर वडाध्यक्ष नगेन्द्र भण्डारी, ३ नम्वर वडाध्यक्ष गजेन्द्र घिमिरे र ८ नम्वर वडाध्यक्ष भूमिराज पोखरेल आगामी चैत ३० गते हुने स्थानीय तहको निर्वाचनमा सोही वडाबाट नेकपा एमालेको तर्फबाट वडाध्यक्षमा उम्मेदवार भएका छन् ।

गरिव र दिन दुखीलाई खाद्यान्न नबाँडी कुहाएर नष्ट गर्ने निर्णय गर्नेहरु २ नम्वर वडाध्यक्ष हेमन्त कार्की, ४ नम्वर वडाध्यक्ष, मणिन्द्र कार्की, ५ नम्वर वडाध्यक्ष छत्रपति सुवेदी, ६ नम्वर वडाध्यक्ष, खड्गप्रसाद पराजुली, ७ नम्वर वडाध्यक्ष बलराम खरेल र ९ नम्वर वडाध्यक्ष सिताराम भट्टराई तथा उपमेयर गीता भेटवालले भने स्थानीय तहको निर्वाचनमा कुनै पदमा उम्मेदवारी दिएका छैनन् ।

आफू मेयर भएर पनि अल्पमतमा परेको र हरेक निर्णयहरु गर्न नसक्दा कतिपय समस्या समाधान गर्न नसकेको कारण देखाउँदै निवर्तमान मेयर रोहित साह भने यो पटक गठबन्धनको साझा उम्मेदवारको रुपमा मेयर पदमा उम्मेदवार भएका छन् । खाद्यान्न नष्ट गर्ने निर्णयमा मेयर साहले आफ्नो पुरा हस्ताक्षर गरेका छन् भने मेयर, उपाध्यक्ष र अन्यले नबुझिने छोटो फरक हस्ताक्षर गरेका छन् ।

बहुमत वडाध्यक्षसहित आफूलाई निर्वाचित गर्न अपिल गर्दै भोट माग्नमा व्यस्त भएका मेयरका प्रत्यासी रोहित साह पनि एमालेबाट निर्वाचित भएका वडाध्यक्ष सरह दोषी भएको गौरादह नगरपालिका १ नम्वर वडाका वडाध्यक्षका उम्मेदवार देबेन्द्र खड्काले आरोप लगाउँदै आएका छन् । खड्का राप्रपाबाट उम्मेदवार उठेका हुन् ।

गौरादहको पुरानो बजारलाई सौन्दर्यकरण गर्ने नाममा बर र पीपलको रुख काटिएको भन्दै स्थानीयले गुनासो गर्दै नगरपालिकाले गम्भीर त्रुटि गरेको स्थानीयले गुनासो गर्दै आएका छन् ।

प्रतिक्रिया