राष्ट्रिय भलिबलमा पुरुषतर्फ आर्मीको जीत


काठमाडाैं – छैटौं संस्करणको राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फको खेलमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा मंगलवार भएको खेलमा आर्मी गल्कोट स्पोर्टस् क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै विजयी भएको हो ।

जारी प्रतियोगितामा आर्मीको यो लगातार तेस्रो जीत हो । यसअघि आर्मीले एपीएफ क्लब र गण्डकी प्रदेशलाई पराजित गरेको थियो ।

मंगलवारको खेलमा आर्मी गल्कोटमाथि २५–१२, २५–११ र २५–२२ को सेटमा पराजित गर्दै विजयी भयो । जीतसँगै आर्मीले ३ खेलमा ९ अंक जोडेर शीर्ष स्थान बनाएको छ । यता पराजित गल्कोटको भने यो लगातार तेस्रो हार हो ।

लिगमा पुरुषतर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, हेल्प नेपाल, गण्डकी प्रदेश, गल्कोट स्पोर्ट्स क्लब र ढोरपाटन क्लब रहेका छन् । विजेता टोलीले ६ लाख तथा उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतियोगितामा तेस्रो स्थान हासिल गर्ने टोलीले १ लाख ५० हजार र चौथो हुनेले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतिक्रिया