स्थानीय चुनावका लागि कति सुरक्षाकर्मी, नेपाल प्रहरीले देखेका चुनौती के हुन् ?


काठमाडौं – वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि एकीकृत सुरक्षा रणनीति कार्यान्वयनमा ल्याइएको सरकारले जनाएको छ।

गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलका अनुसार यसपालि पनि निर्वाचनसम्बन्धी सुरक्षामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना खटिनेछन्।
त्यसबाहेक स्थानीय चुनावकै लागि भनेर करिब एक लाख म्यादी प्रहरी पनि भर्ना गरिएको मन्त्रालयले जनाएको छ।

देशभरि सबै स्थानीय तहमा एकै चरणमा हुन लागेको चुनावमा मतदान गर्ने दिन आउन अब १८ दिन बाँकी छ। स्थानीय तहको चुनावका लागि तीन लाखको हाराहारीमा सुरक्षाकर्मी खटिने गृह मन्त्रालयका सूचना अधिकारी वसन्त भट्टराईले बताए।

‘एकसट्ठी हजार नेपाल प्रहरी, २३ हजारको हाराहारीमा सशस्त्र प्रहरी र एक लाख म्यादी प्रहरी छन्। ४०-५० हजार नेपाली सेना खटिनेछन्, तर त्यो आवश्यकता हेरेर हो। तीन लाखको हाराहारीमा हुन्छ,’ बीबीसीसँग उनले भने।

भट्टराईका अनुसार मतदानको ३० दिन अगाडिबाट शुरू भएको सुरक्षाकर्मीको परिचालन विजय जुसुल नसकिँदासम्म निरन्तर रहनेछ। ‘अहिले मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृतको कार्यालयमा सुरक्षाकर्मी पुगिसकेका छन्, प्रत्येक कार्यालयमा पाँच जनाको दरले सशस्त्र प्रहरीको टोली नै पुगिसक्यो,’ उनले थपे।

‘मतदान केन्द्र, मतदान स्थलमा चाहिँ वैशाख २५(२६ गतेसम्म पुगिसक्छन्। गस्ती गर्ने घुम्ती टोली त परिचालन भइसकेकै छन्।’ गृह मन्त्रालयका अनुसार मतदान केन्द्रहरूमा तीन तहको सुरक्षा घेरा हुनेछ।

‘पहिलो घेरामा नेपाल प्रहरी हुन्छ, त्यसपछि सशस्त्र प्रहरी अनि नेपाली सेना हुन्छ। नेपाल प्रहरीले सहयोग मागेको खण्डमा पहिला सशस्त्र प्रहरी, त्यसपछि सेनाले सघाउँछ,’ सूचना अधिकारी भट्टराईले भने।

चुनावसम्बन्धी समग्र सुरक्षाको जिम्मेवारी आफूहरूको काँधमा भएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसी बताउँछन्। ‘चुनावका बेला सशस्त्र प्रहरी र नेपाली सेनाले काम गर्ने भनेको नेपाल प्रहरीलाई आवश्यक पर्दा थप मद्दत गर्ने मद्दती फौजको रूपमा हो,’ बीबीसीसँग उनले भने।

सुरक्षाको दृष्टिकोणले गृह मन्त्रालयले मतदान स्थललाई सामान्य, संवेदनशील र अति संवेदनशील गरी तीनवटा समूहमा विभाजन गरेको बताइएको छ। यद्यपि कुन समूहमा कहाँका के कति मतदान स्थल परेका छन् भन्नेबारे गृह प्रवक्ता पोखरेलले केही बताएनन्। ‘त्यो चाहिँ सार्वजनिक गर्ने विषय नै होइन।’

प्रहरी प्रवक्ताका अनुसार अघिल्लो चुनावको तुलनामा यसपालि कतिपय स्थानमा संवेदनशील र अति संवेदनशील स्थानको सङ्ख्या घटबढ भएको छ। ‘कतै बढेको छ भने कतै केही घटेको छ,’ सङ्क्षेपमा उनले भने।

खुला सिमानाको कारण देखिनसक्ने चुनौतीदेखि दलहरूबीच हुनसक्ने झैझगडासम्मलाई प्रहरीले आफ्नो लागि चुनौतीको रूपमा हेरेको छ। भौगोलिक विकटताका कारण कतिपय स्थानमा मतपत्र तथा मतपेटिका ओसारपसारमा समेत चुनौती देखिनसक्ने प्रहरीले जनाएको छ।

‘खुला सिमाना भएकोले अवाञ्छित व्यक्तिहरू प्रवेश गर्नसक्ने चुनौती हुनसक्छ, दलहरूबीच खिचातानी, पोस्टर, पम्पलेट अथवा आचारसंहित उल्लङ्घनलाई लिएर हुनसक्ने झडपले सुरक्षा चुनौती हुनसक्छ,’ प्रहरी प्रवक्ता केसीले थपे।

‘यस्ता चुनौतीको सामना गर्न सजगतापूर्वक सुरक्षा व्यवस्था मिलाइएको छ।’ चुनाव हुनुभन्दा ७२ घण्टा पहिलेदेखि नेपाल-भारत सीमानाका बन्द गरिँदै आएको छ।

वैशाख २९ गतेसम्म १८ वर्ष पूरा भएका एक करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ। तीमध्ये ८७ लाख ४१ हजार ५३० जना महिला, ८९ लाख ९२ हजार १० जना पुरुष र १८३ जना अन्य मतदाता रहेका छन्। सातवटा प्रदेशका कुल ७५३ स्थानीय तहमा छवटा महानगर, ११ उपमहानगर, २७६ नगरपालिका तथा ४६० वटा गाउँपालिका छन्।

आयोगका अनुसार सबै ७५३ स्थानीय तहअन्तर्गत कुल ३५ हजार २२१ पदका लागि मतदान हुँदैछ। मतदानका लागि आयोगले देशैभरि १० हजार ७५६ वटा मतदान स्थल र २१ हजार ९५५ वटा मतदान केन्द्र तोकेको छ।

प्रतिक्रिया