
सशस्त्र प्रहरी महानिरीक्षक केसीबाट दर्ज्यानी चिह्न प्रदान
काठमाडाैं – सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले सशस्त्र प्रहरी उपरीक्षक पदबाट सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पदमा कायममुकायम मुकर्रर भएका ७ जना वरिष्ठ अधिकृतलाई दर्ज्यानी चिह्नबाट प्रदान गरेका छन् ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा बुधवार आयोजित विशेष समारोहबीच सशस्त्र प्रहरी महानिरीक्षक केसीले पदोन्नति भएका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकलाई बधाई दिनुका साथै संगठनमा रहेर आफ्नो नियुक्तिका क्षेत्रमा इमान्दारितापूर्वक जिम्मेवारी निर्वाह गरी शान्ति सुरक्षा तथा सेवा प्रवाहमा पुर्याएको योगदानको कदर स्वरूप पदोन्नति प्राप्त भएको बताउँदै दर्जासँगै प्राप्त भएको जिम्मेवारी निर्वाहमा अझ बढी क्रियाशील रहँदै कार्यसम्पादनमा जुट्न निर्देशन दिए ।
उनले पदोन्नति वृद्धि विकासको महत्त्वपूर्ण पाटोको रूपमा रहेको चर्चा गर्दै कमाण्डर तहका अधिकृतले मातहतका कर्मचारीलाई समेत फौजी अनुशासनमा राख्दै उच्च मनोबल प्रदान गरी स्तरीय ढंगले परिचालित गर्दै राष्ट्रको सुरक्षा, आम नागरिकको सेवा, सीमा सुरक्षा, लगायत राज्यप्रदत्त विविध जिम्मेवारीमा क्रियाशिल भई नतिजामूलक कार्यसम्पादनमा जुट्न निर्देशन दिए ।
गृहमन्त्री स्तरको मंगलवारको निर्णयले सशस्त्र प्रहरी सेवा प्राविधिक समूह स्वास्थ्यतर्फ डा. मिना कुँवर जोशी र डा. सुरेन्द्रमान श्रेष्ठ, सशस्त्र प्रहरी सेवा प्राविधिक समूह सञ्चार तथा इन्जिनीयरिङतर्फ ई. प्रमोदकुमार साह, सशस्त्र प्रहरी सेवा साधारण समूह साधारण उपसमूहतर्फ उद्धवबहादुर न्यौपाने, राजेन्द्र खड्का र नरेन्द्र सेन तथा सशस्त्र प्रहरी सेवा, साधारण समूह, कानून उपसमूहतर्फ युवराज अर्याल कायममुकायम सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पदमा मुकर्रर भएका छन् ।
समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेल लगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतको उपस्थिति थियो । 



कागजपत्र |
