

सत्यमोहन जोशीलाई अस्पतालको आईसीयूमा सारियो

काठमाडौँ– छातीमा समस्या भएपछि अस्पताल भर्ना भएका संस्कृतिविद् सत्यमोहन जोशीलाई आइसियूमा सारिएको छ। बिहीबार दिउँसो ललितपुरस्थित निवासमै रहेको बेला छातीमा असजिलो भएपछि किस्ट अस्पताल पुगेका जोशीलाई इमर्जेन्सीमा भर्ना गरेर उपचार सुरु गरिएको थियो। स्वास्थ्यमा थप समस्या भएपछि उनलाई आइसीयूमा सारिएको हो।
सुरुमा चिकित्सकले जोशीमा मूत्र प्रणालीको संक्रमण र मुटुको चालमा समेत गडबडी देखिएको बताएका थिए। शुक्रबार रातिदेखि मुटुको चालमा अस्थिरता देखिएपछि सूक्ष्म निगरानीका लागि आइसियूमा सारिएको किस्ट अस्पतालका निर्देशक प्राडा सुरज बज्राचार्यले जानकारी दिए।
बज्राचार्यका अनुसार जोशीमा पिसाबसम्बन्धी संक्रमण देखिनुको साथै मुटुसमेत सुन्निएको छ। जसको कारण मुटुको चालसम्बन्धी श्वासप्रश्वास नलीको फाइब्रो ब्रोङ्कएक्टेसिस समस्या देखिएको अस्पतालले जनाएको छ।उपचार पश्चात अहिले जोशीको अवस्था सन्तोषजनक रहेको चिकित्सकले बताएका छन्।

