हुम्लामा तीन दिनदेखि हवाई सेवा अवरुद्ध


सिमकोट – एक मात्र यातायातका रूपमा रहेको हिमाली जिल्ला हुम्लामा तीन दिनदेखि हवाई सेवा अवरुद्ध भएको छ।सडक यातायातले नजोडिएको हुम्लामा नेपालगञ्ज सुर्खेतमा निजी तथा नेपाल एयरलाइन्सका जहाज नभएपछि हवाई सेवा हुन नसकेको हो।

जिल्लामा यातायातको कुनै सुविधा नरहेको हुम्लामा तीन दिनदेखि कुनै पनि उडान हुन नसकेको नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाका प्रमुख मोहन गिरीले बताए।

पछिल्लो समयमा हुम्ला जिल्लामा मौसम सफा भए पनि कर्णाली प्रदेश राजधानी सुर्खेत र नेपालगञ्जमा कुनै पनि विमान नहुँदा हुम्लामा उडान हुन नपाएको नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाका प्रमुख गिरीले बताए।

पछिल्लो समय हुम्लाको लागि कुनै पनि उडान नभएपछि सुर्खेत, नेपालगञ्जका यात्रु होटेलको महंगीको मर्कामा परेका छन्। जिल्ला सदरमुकाम सिमकोटबाट नेपालगञ्ज र सुर्खेत जाने यात्रु पनि सिमकोटमै रोकिनु परेको स्थानीय कविराज हमालले बताए।

केही समय अगाडिसम्म नियमित उडान भर्दै आएको नेपाल एयरलाइन्सले समेत उडान भर्न छाडेको र अरू निजी एयरलाइन्सले उडान नियमित नहुँदा दैनिक उपभोग्य सामानको मूल्य अकासिएको र सहज रूपमा नपाएको उपभोक्ता राम बहादुर भण्डारीले बताए।

प्रतिक्रिया