स्थानीय तह निर्वाचन : बालअधिकारका सवाललाई प्राथमिकता दिने प्रतिबद्धता


काठमाडौं – प्रमुख राजनीतिक दलका नेताहरुले आसन्न स्थानीय तहको निर्वाचनका लागि घोषणापत्रमा बालअधिकार र बालबालिकाका सवाललाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले आज आयोजना गरेको राजनीतिक संवादमा उनीहरुले संविधानको मौलिक हकमा उल्लेखित बालबालिकाको अधिकारको रक्षा र कार्यान्वयनका लागि केन्द्र, प्रदेश र स्थानीय तहका तर्फबाट ठोस कदम चालिने विश्वास दिलाएका हुन् ।

कार्यक्रममा नेकपा ९एमाले०का महासचिव शङ्कर पोखरेलले स्थानीय तहको निर्वाचनका लागि लागू भएको आचारसंहितामाथि आफ्नो दलको छ बुँदे फरक मत रहे पनि यसको कार्यान्वयनमा पार्टी प्रतिबद्ध भएको स्पष्ट पारे ।

उनले बालबालिका र विद्यालयलाई शान्ति क्षेत्र कायम गर्ने सवालमा एमाले सशस्त्र द्वन्द्वकै समयदेखि नै सारथी रहँदै आएको बताए ।

कुनै मुलुकको भविष्य उज्यालो बनाउन राज्यको ध्यान बालबालिकाका क्षेत्रमा पुग्नुपर्नेमा दुई मत नरहेको र उपलब्ध साधन तथा स्रोतलाई स्थानीय तहसम्म विकेन्द्रीकरणको प्रक्रिया एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री भएदेखि नै आरम्भ भएको जनाए ।

नेपाली काँग्रेसका सह महामन्त्री जीवन परियारले आफूहरुले संविधान निर्माणका क्रममा पर्याप्त छलफल र चासो राखेर बालबालिकाका धेरै सवाललाई सम्बोधन गर्दै आएको उल्लेख गर्दै निर्मित नीति र कानुन कार्यान्वयनका लागि काँग्रेस पार्टी प्रतिबद्ध भएको जनाए ।

पढेलेखेकै घर परिवारमै बालअधिकारको पालना नभएको उल्लेख गर्दै उनले निर्वाचन आचारसंहितालाई कडाइका साथ पालना र दुरुपयोग रोक्न पार्टीले संयन्त्र बनाएको जानकारी दिए ।

नेकपा ९माओवादी केन्द्र०का नेता शक्तिबहादुर बस्नेतले हालसम्म प्राप्त उपलब्धिको रक्षा गर्दै शिक्षा र बालबालिकाका क्षेत्रमा सुन्दर नारा तय गरेर मात्रै नपुग्ने भएकाले व्यवहारिकता पनि हेरिनुपर्नेमा जोड दिए ।

जनप्रतिनिधिबाट संविधान निर्माण भएकाले संविधान बालमैत्री बन्न सफल भएको जनाउँदै उनले सशस्त्र द्वन्द्वरत पक्षहरुको समेत शान्ति सम्झौताकै कारण संविधानसभाबाट संविधान जारी भएको स्मरण गराए ।

बालअधिकारकर्मी गौरी प्रधानले बालबालिकाको बाँच्न पाउने अधिकार रक्षाका साथै सहजरुपमा जन्म दर्ता, विद्यालय भर्ना र निःशुल्क शिक्षाको निरन्तरता, खेल, मनोरञ्जन र बाल संरक्षणका सवालमा प्राथमिकता दिइनुपर्ने बताइन् ।

अधिवक्ता इन्दु तुलाधरले निर्वाचन आचारसंहितामा समाविष्ट निर्वाचन प्रचारप्रसारका क्रममा बालबालिका र विद्यालयलाई प्रयोग गर्न नहुनेजस्ता प्रावधानको पालना हुनुपर्ने आवश्यकता औँल्याइन् ।

राष्ट्रिय बालअधिकार परिषद्का कार्यकारी निर्देशक मिलन धरेल र राष्ट्रिय किशोरी सञ्जालका संयोजक ललिता पाख्रिनले बालबालिकालाई दलहरुले चुनावी प्रचारका क्रममा दुरुपयोग गर्न नहुने तर बालबालिकाका सवाललाई निर्वाचनका समयमा महत्त्व दिइनुपर्ने बताए ।

बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानका अध्यक्ष राजेश शर्माले स्थानीय तहको निर्वाचनमा दलहरुले जारी गर्ने घोषणापत्रमा बालबालिकाका विषयलाई प्राथमिकता दिन आग्रह गरे ।

प्रतिक्रिया